एआईजी बढुवामा सरकार गम्भीर बनेन

फाल्गुन ४, २०७६ | काठमाडौं

नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवाका लागि सरकारले अझैं तयारी थालेको छैन् । ठाकुर ज्ञवाली महानिरिक्षक बनेसँगै पदपूर्ती गर्न बाटो खुलेपनि सरकारले भने प्रक्रिया नै सुरु गरेको छैन । 

तर, तीन पदका लागि ७ जना डीआईजीको दौडधुप भने सुरु भैसकेको छ । गत माघ २८ गतेदेखि नेपाल प्रहरीमा ३ एआईजी पद रिक्त छ । प्रहरी नियमावली अनुसार एआईजी बढुवा सिफारिस समितीमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपषिद् कार्यालयका एक जना सचिव सदस्य र आइजीपी सदस्य सचिव रहेको प्रावधान छ । तर, एआईजी बढुवाका लागि सिफारिस समितिको बैठक समेत नबसेको स्रोतको भनाई छ । 

३० बर्षे सेवाअवधिका कारण निर्वमान प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसहित तीन एआईजी र १८ डीआइजीले गत बुधबार देखि अवकास पाएपछि प्रहरी संगठनको माथिल्ला धेरै पद रिक्त छ । एआईजीले कमाण्ड गर्ने अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभाग अहिले नेतृत्वविहीन छ ।

एआईजी बढुवा नहुदा डीआईजीको पदपूर्ती समेत हुनसकेको छैन् । डीआइजीको नेतृत्व हुने प्रदेश २ र सुदूरपश्चिम बाहेक अन्य नेतृत्वविहीन छन् । प्रहरी नियमावली अनुसार एआइजी बढुवा नभएसम्म डीआइजी बढुवा गर्न मिल्दैन ।

डीआइजी बढुवा सिफारीस समितिमा भने गृह सचिव अध्यक्ष, आइजीपी सदस्य र आइजीपीले तोकेको एक जना एआइजी सदस्य सचिव रहने व्यवस्था छ । तर, एआइजीविहीन अवस्थामा डीआइजीको बढुवाको बाटो भने अझै बन्द छ । डीआईजी शैलेश थापा क्षेत्री, निरजबहादुर शाही, हरिबहादुर पाल र पद्युम्न कार्की एआईजी बढुवाका लागि दाबेदार हुन् । 

उनीहरु सबै २०४९ बैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । उनीहरु भन्दा ११ महिनापछि प्रहरी सेवामा प्रवेश गरेका डीआईजी विश्वराज पोरखेल पनि एआईजीका अर्का दाबेदार हुन् । यस्तै नवनियुक्त आईजी ज्ञजालीका व्याची तारणीप्रसाद लम्साल, सूर्य उपाध्याय एआईजी प्रतिस्पर्धामा छन् ।

३० वर्षे सेवा अवधिका कारण २७ औं आईजीपी ज्ञवालीको कार्यकाल आगामी असार २५ गतेसम्म मात्रै हुनेछ । ज्ञवालीसँगै लम्साल र उपाध्याय पनि अवकाशमा जानेछन् । ज्ञवालीको अबकाशपछि २८ औं आईजीपी नियुक्ती एआईजीमध्येबाटै गर्नुपर्ने बाध्यता सरकारलाई हुनेछ । 

यसैले लम्साल र उपाध्यायबाहेक क्षेत्री, शाही, पाल र कार्की एआईजी वढुवाका लागि आफू अनुकूल लविङमा सक्रिय भएका हुन् । पद थोरै र आकांक्षी धेरै भएपछि एआईजी बढुवामा समय लागेको जानकारहरु बताउँछन् ।     


प्रतिक्रिया