मन्त्रालयको कामप्रति मन्त्री नै असन्तुष्ट !

फाल्गुन ७, २०७६ | काभ्रे

नगेन्द्र अधिकारी

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले मन्त्रालयका कामको प्रगति सन्तोषजनक नभएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभएको छ । स्थिर सरकार र कर्मचारी प्रशासन हुँदा पनि बजेट समेत खर्च हुन नसकेको भन्दै उहाँले असन्तुष्टी जनाउनुभएको हो ।

जलश्रोत तथा सिंचाई विभागले काभ्रेको धुलिखेलमा गरेको १२ औं सिंचाई राष्ट्रिय गोष्ठीको आज उद्धघाटन गर्दै मन्त्री पुनले चालु आर्थिक वर्षको ७ महिनामा जम्मा २४ प्रतिशत मात्रै खर्च भएको भन्दै कारण पत्ता लगाउन अनुरोध गर्नुभयो । 

मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका ५ आयोजना मध्ये कुनैमा पनि सन्तोषजनक प्रगति नभएको भन्दै कारण खोज्न औंल्याउनुभयो । यद्यपी मन्त्री पुनले समस्या समाधानको लागि बिषय उठान गरेको बताउनुभयो । 

दुई दिने गोष्ठीमा सिंचाई सम्बन्धि बहुउद्धेश्यीय परियोजनाको सम्भवना, अवसर, जलश्रोतको आधुनीकिकरण र व्यवसायीकरण, जलश्रोत र सिंचाई विकासका माध्यम, नीजि क्षेत्रको संलग्नता लगायतका विषयमा छलफल हुने छ ।