पूर्वमन्त्री बाँस्कोटाबिरुद्ध अख्तियारमा उजुरी

फाल्गुन ११, २०७६ | काठमाडौं

निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशकबिरुद्ध उजुरी परेको हो । 

बाँस्कोटाले सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौं कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । त्यो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

कमिसनको सो बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ । एक करोड रुपैयाँभन्दा बढी लिएमा ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था सो ऐनमा छ । 

बाँस्कोटा विरुद्ध छानविन हुन्छ: गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री बाँस्कोटाको कमिसन सम्वन्धी विवादास्पद अडियो संवादबारे छानविन हुने बताउनुभएको छ । 

सेक्युरिटि प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा विहीबार राजीनामा दिएका बास्कोटा विरुद्ध सरकारले छानविन गर्ने गृह मन्त्री थापाको भनाई छ । 

बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा पुगेका गृहमन्त्री थापाले भन्नुभयो ‘बास्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनु भएको छ,’ ‘यो विषयमा सरकारले आवश्यक छानविन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’ यसअघी हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बास्कोटाविरुद्ध सरकारी निकायले छानविन गर्ने बताउनुभएको थियो ।

यसैबीच, अर्थमन्त्री युवराज खतिवडाले आजै सञ्चार मन्त्रालयको पनि जिम्मेबारी सम्हाल्नु भएको छ । बांस्कोटाले राजीनामा दिएपछि प्रधानमन्त्री केपाी शर्मा ओलीले अर्को निर्णय नभएस्रम्मका लागि खतिवडालाई सञ्चारमन्त्रालयको पनि जिम्मेवारी दिनुभएको थियो । 


प्रतिक्रिया