दिपेश पुन ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा

वैशाख १४, २०८१ | काठमाडौं

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

गत शुक्रबार जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । अदालको आदेश भए पनि अदालतले भने अनुसार धरौटी बुझाउन नसकेपछि पुन थुनामुक्त हुन सकेका थिएन् ।

सो क्रममा आज धरौटी रकम बुझाएसँगै तारिखमा छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

रूपन्देही जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले पुन सहितका ६ जनालाई रिहा गर्न भने पनि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको थियो ।

प्रहरीको झन्डै २ महिना लामो अनुसन्धानपछि वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

१९ हजार ३ सय ९१ सदस्य रहेको सो सहकारीमा ८६ करोड १८ लाख, २३ हजार अपचलन भएको प्रतिवेदन प्रहरीले तयार पारेको छ ।  


प्रतिक्रिया