व्यक्तिका लागि संविधान संशोधन दुर्भाग्य : मुख्यमन्त्री राउत

फाल्गुन १२, २०७६ | जनकपुर

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले व्यक्तिको इच्छा पूरा गर्न संविधान संशोधनको तयारी गर्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताउनु भएको छ । 

संविधानप्रति मधेसी, आदिवासी जनजाती र उत्पीडित वर्गको असहमति हुँदाहुँदै पनि व्यक्ति विशेषको अभिष्ट पूरा गर्न संशोधनको तयारी गर्नुले संघीय सरकारको बेइमानी झल्किएको उहाँले आरोप लगाउनुभयो । 

‘मधेसी, आदिवासी–जनजाती र उत्पीडित वर्गको माग प्राथमिकतामा पर्दैन,’ मुख्यमन्त्री राउतले भन्नुभयो, ‘तर, कुनै खास व्यक्तिको स्वार्थ र अभिष्ट पूरा गर्न संविधान संशोधनका लागि कार्यदल बन्छ भन्ने यो भन्दा दुर्भाग्य के होला ।’

संघीय सरकारको नेतृत्व गरिरहेको नेकपाले आफ्ना नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने सम्मको बाटो खोल्न संविधान संशोधनका लागि आइतबार कार्यदल बनाएको छ । 

संविधान संशोधनकै अजेन्डामा संघीय सरकारबाट बाहिरिएको समाजवादी पार्टीका उपाध्यक्ष समेत रहेका मुख्यमन्त्री राउतले नेता गौतमका लागि संविधान संशोधन गर्न तयार हुने नेकपा मधेशको अजेन्डामा रिजिट देखिएको आरोप लगाउनुभयो । 

‘पार्टीका खास व्यक्तिका लागि संविधान संशोधन गर्नु राम्रो होइन,’ मुख्यमन्त्री राउतले भन्नुभयो, ‘यस्तो व्यवहारले उत्पीडनमा रहेका समुदायले सरकारसंग के अपेक्षा गर्छ ।’

मुख्यमन्त्री राउतले सबैको संविधान बनाउन र मुलुकमा स्थिरता, शान्ति र विकास ल्याउन राजनीति अजेन्डामा संशोधनको तयारी गर्न नेकपालाई सुझाव दिनुभयो ।

‘संघीय सरकारको नेतृत्व गर्ने पार्टी र नेताको मनोवृत्ति संशोधनको तयारीबाट प्रष्ट भएको छ,’ उहाँले भन्नुभयो, ‘नागरिकता, जनसंख्याको आधारमा प्रतिनिधित्व र प्रदेशको सिमाकंनमा अझै हाम्रो बिमति छ । 

यो मामिलामा संशोधनका लागि आग्रह गर्दा सरकार कहिल्यै तयार भएनन् । तर, आफ्ना व्यक्तिको नीजि इच्छा पुरा गर्न संशोधनको लागि तयार हुनु दुर्भाग्य हो ।’

धनुषामा आइतबार आयोजित धार्मिक समारोहमा सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ‘प्रदेश २ को सरकारमा सहभागी हुन समाजवादी र राजपा दुबै दलसँग वार्ता भनेर दिएको अभिव्यति प्रति पनि मुख्यमन्त्री राउतले आपत्ति जनाउनुभयो । 

‘नेकपाका अध्यक्ष पुष्पकमल दाहालका बहकिएर कुरा गर्नुहुन्छ । उहाँ लबरा(बोली फेरिरहने) नेता हुन,’ मुख्यमन्त्री राउतले भन्नुभयो, समाजवादी र राजपाबीच पार्टी एकताको कसरत तीब्र भएको बेला प्रदेश २ को सरकारमा आफ्नो सहभागिता खोज्नु उहाँका सपना मात्र हो । यो सम्भव छैन ।’


प्रतिक्रिया