सरकारका जिम्मेवार व्यक्तिहरु नै धाकधम्कीमा उत्रिए : सांसद

फाल्गुन १५, २०७६ | काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित सत्तारुढ दलका सांसदहरुले सरकारका जिम्मेवार व्यक्तिहरु नै धाकधम्कीमा उत्रिएको आरोप लगाएका छन् । राज्यका हरेक निकायलाई आफ्नो बसमा ल्याउन प्रधानमन्त्री र मन्त्रीहरुबाट धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक भएको भन्दै उनीहरुले आलोचना स्वीकार्न नसकेको टिप्पणी गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा बिशेष समयमा बोल्दै कांग्रेस सचेतक पुष्पा भुषालले २०१५ सालपछि पहिलो पटक दुई तिहाई नजिक रहेको सरकारले राज्यका हरेक अंगलाई प्रभावमा पार्न खोजेको आरोप लगाउनु्भयो । २०४८ सालपछि १५ वर्ष कम्युनिष्ट पार्टीहरुले सरकारको नेतृत्व गरेको दलिल प्रस्तुत गर्दै भुषालले नेपाली कांग्रेसलाई बद्नाम गर्न भ्रमपूर्ण तथ्याङ्कहरु बाहिर ल्याएको दाबी गर्नुभयो ।

सत्तारुढ नेकपाका जनार्दन शर्माले सरकारको विरोध गर्नेहरूलाई आरोपित गर्ने, धम्क्याउने, तर्साउने र झुकाउने काममा प्रधानमन्त्री र मन्त्रीहरू लागेको आरोप लगाउनुभयो ।

सरकारप्रति विश्वासको संकट पैदा भएको बताउँदै नेता शर्माले नेपाल ट्रस्टको श्वेतपत्रमार्फत आफ्नै पार्टीका नेताहरूलाई तर्साउन खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग जवाफ माग गर्नुभयो ।

शर्माले भने २०७४ भदौ ३० गते आफू पदबाट मुक्त भएको र श्वेतपत्रमा उल्लेख गरिएको मितिमा विनाविभागीय मन्त्री मात्रै रहेको जानकारी दिदै श्वेतपत्रमा लेख्नुपर्ने व्यक्तिको नाम किन लेखिएन भनेर प्रश्न गर्नुभयो । 


प्रतिक्रिया