एक वर्षमा ३० करोडको सुन्तला उत्पादन

फाल्गुन २६, २०७६ | भोजपुर

टेम्केमैयुङ गाउँपालिका २ छिनामखुका कृष्ण कुमार राईले यो वर्ष सुन्तलाबाट राम्रो आम्दानी गरेका छन् । उनले यस वर्ष ६ लाख भन्दा धेरैको सुन्तला बगानबाटै बेचे । बगान सप्रिएपछि सुन्तलाले राम्रो उत्पादन दियो । मौसम र बगानको उचित व्यवस्थापनले सुन्तलाबाट नाफा पाएको उनको भनाई छ ।

यस वर्ष लगानी अनुसारकै उत्पादन र आम्दानी भएको र किराको प्रकोप पनि कम देखिएकाले उत्पादन राम्रो भएको षडानन्द नगरपालिका–४ केराबारीका भरत बस्नेतले बताए । उनले भने, ‘मलजल र किटनाशक औषधिले बगानमा राम्रो सुन्तलाको दाना लागेको र विक्रीमा सहजताले गर्दा यो वर्ष आम्दानी निकै राम्रो भएको छ ।’

सुन्तलाको उत्पादनसँगै भाउ पनि बढेपछि यस वर्ष राम्रो कमाई भएको भोजपुर नगरपालिका –५ बोखिमका चुर्णा बहादुर राईले बताए । सुन्तला ढुवानी गर्ने ठेकेदार बगानमै राम्रो मोल लगाउँदै आएपछि आफैंले बेच्न बाहिर लैजानु नपरेको उनले सुनाए । उनले भने, ‘घरबाटै किलोको १ सय ६० ले सुन्तला लाने गरेका छन् र विरुवा बोट भएकाले सुन्तला धेरै समय सम्म रहि रहन्छ । अलि पछि देखि त झन राम्रो भाउ पाईन्छ ।’ यो बर्ष पर्याप्त बर्षा, नयाँ बोट बिस्तार र रोगकीरा आदिको प्रकोप घट्नाले उत्पादन बढेको हो ।

कात्तिक देखि बिक्री सुरु भएको सुन्तला अहिले पनि भोजपुरका प्राय सबै स्थानहरुमा खरिद–बिक्री भइरहेको छ । यहाँ भण्डारणको कुनै व्यवस्था नभए पनि अझै यहाँको सुन्तला बोटबाट नै विक्री भई रहेको छ । कतिपय किसानहरुले डोको, धोक्रो र अरु विभिन्न माध्यमबाट जिल्ला भित्रका पालिकाहरुको केन्द्रमा लगेर सुन्तला बिक्री गरिरहेका छन् ।

सुन्तलाको माग बढेसँगै सुन्तला ढुवानी गर्ने ठेकेदार गाउँगाउँमा पुगेर सुन्तलाका बोटमै मोलमोलाई गर्ने गरेका छन् । बोटमै प्रति दाना १० देखि ३० रुपैयाँसम्म सुन्तला उठाउने गरेको ढुवानी व्यावसायीहरु बताउँछन् । भोजपुरमा उत्पादन भएका सुन्तला धनकुटा, सुनसरी, झापा, मोरङ, धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायत भारतको विभिन्न स्थानहरु सम्म पुग्ने गरेको छ । गतसालको तुलनामा प्रशस्त उत्पादन र पहाडको ताजा अर्गानिक सुन्तलाको बढ्दो मागले पनि यो वर्ष सुन्तलाको विक्री राम्रो भएको भएको सुन्तला ढुवानीकर्ताहरु बताए ।

यो वर्ष भोजपुरमा ३० करोड बराबरको चार हजार ७ सय ६ मेट्रिक टन सुन्तला बिक्री भएको छ । गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । करिब दुई करोड मूल्य बराबरको सुन्तला जिल्लाभित्र खरीद विक्री भएको छ । बाँकी अन्य जिल्लामा निर्यात भएको केन्द्रका निमित्त कार्यालय प्रमुख योगेन्द्र प्रसाद यादवले जनाए । गत वर्ष २८ करोड २९ लाख ४४ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्यांक छ । जिल्लाको कुल ५ सय ८७ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको छ ।

तीमध्ये २ सय ८७ ठूला बैगचा तथा सामान्य रुपमा सुन्तला खेती हुन्छ । कम खर्चिलो, कम लगानी र थोरै श्रमदानले पनि गर्न सकिने सुन्तलाबाट बसीबसी आम्दानी र सुन्तलाको बोटैमा मोलमोलाई गर्ने व्यापारी आउने भएकाले पनि कृषक सुन्तला खेतीप्रति आकर्षित हुन थालेका छन् ।

सुन्तला पकेट क्षेत्रकै रुपमा लिइएको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, भोजपुर नगरपालिकाको देउराली, हेलौछा, आम्तेक, बोखिम, पालुवा, दावा, सिद्देश्वर, गुप्तेश्वर, हतुवागढी गाउँपालिकाको रानीबास, अरुण गाउँपालिकाको प्याउली, षडानन्द नगरपालिकाको साङपाङ, मुलपानी, तुङ्गेछा, केउरेनीपानी लगायत ठाउँमा सुन्तला खेती गरिन्छ । सुन्तला उत्पादन हुने क्षेत्रमा प्रदेश तथा केन्द्र सरकारले सुन्तलाको पकेट तथा ब्लग स्थापना गरी कृषकलाई अनुदानको व्यवस्था गरेको छ ।


प्रतिक्रिया