प्रधानमन्त्री ओली डिस्चार्ज

फाल्गुन ३०, २०७६ | काठमाडौं

दोस्रो पटक मिर्गौलाको सफल प्रत्यारोपण पछि प्रधानमन्त्री केपी शर्मा ओली आज घर फर्कनु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा फागुन २१ गते मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १२ दिनको अस्पताल बसाईंपछि आज डिस्चार्ज हुनु भएको हो ।

 शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर प्रेम कृष्ण खड्गाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो भएकाले आज डिस्चार्ज गरिएको बताउनुभयो । प्रधानमन्त्री ओली गत फागुन १९ गते अस्पताल भर्ना हुनु भएको थियो । 

मिर्गौला प्रत्यारोपणका बिरामीलाई सामान्यतया ५ दिन अस्पताल राख्ने गरिएपनि अन्य कुनै संक्रमण नहोस भनेर थप ५ दिन अस्पताल राखेको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ । उहाँले यसअघि नै डिस्चार्ज मागेपनि बालुवाटारस्थित निवासमा उपचारको राम्रो प्रवन्ध मिलाउन भन्दै आफन्तहरुको आग्रहमा चिकित्सकहरुले अस्पताल बसाईंको दिन लम्ब्याएका थिए । 

आज बिहान गरिएका सम्पूर्ण परीक्षणहरु सकारात्मक आएपछि उहाँलाई घर पठाउने निर्णय गरिएको कार्यकारी निर्देशक डा.खड्गाको भनाई छ । चिकित्सकहरुले प्रधानमन्त्री ओली पूर्ववत रुपमा सक्रिय जीवनमा फर्कन कम्तीमा ६ महिना लाग्ने बताएपनि दैनिक कामका लागि भने समस्या नहुने बताएका छन् । 

यद्यपि उहाँमा थप केही दिन बिशेष निगरानी आवश्यक रहेको उनीहरुको भनाई छ । 

 डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओलीलाई भेट्न उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा सचिवालयका सदस्य लगायत नेता कार्यकर्ता ण्अस्पताल पुगेका थिए । प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संर्गौलाको भने अस्ति बुधबार नै डिस्चार्ज भएको थियो ।


प्रतिक्रिया