अस्पतालले प्रदान गरिरहेको विस्तारित स्वास्थ्य सेवा २ हप्ताका लागि स्थगन गर्ने सरकारको निर्णय

चैत्र १०, २०७६ | काठमाण्डौं

– सरकारले अस्पतालबाट प्रदान गरिरहेको विस्तारित स्वास्थ्य सेवा २ हप्ताका लागि स्थगन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै तत्काल उपचार नगर्दा थप जोखिम नहुने बिरामीका लागि २ सातासम्म फलोअपमा नबोलाउन पनि आग्रह गरेको छ । यस्तै तत्काल नियमित जाँच र शल्यक्रिया नगर्दा जोखिम नहुने बिरामीलाई पनि २ सातासम्म स्थगन गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ । ज्वरोका लक्षण भएका बिरामीहरुलाई लक्षित गरी फिभर क्लिनिक सञ्चालनमा ल्याउने र कोभिड १९ को सम्भावित संक्रमण देखिएमा बिरामीलाई अस्पतालको आइसोलेसनमा राखी नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि मन्त्रालयले अस्पतालहरुलायृ आग्रह गरेको छ ।

६० वर्ष माथिका वृद्धवृद्धा, गम्भिर प्रकारका श्वासप्रश्वासका बिरामी, दीर्घरोगी र स्वास्थ्यकर्मीहरुमा समेत सम्भावित संक्रमणको लक्षण देखिए सरकारले नमुना परीक्षण गर्ने व्यवस्था समेत गरेको छ ।

सम्भावित संक्रमित तथा संक्रमित बिरामीहरुको उपचारको लागि काठमाण्डौं उपत्यकामा एक हजार बिरामी शैया, एक सय २० आइसीयु शैया र विभिन्न प्रदेशमा एक सय २५ आइसीयु शैया थप्ने कार्य शूरु भएको पनि मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । यस्तै सरकारले हालसम्म शंकास्पद लक्षण देखिएका र क्वारेन्टाइनमा राखिएका ६ सय १० जनाको नमूना परीक्षण गरेको छ । जसमध्ये कोरोना संक्रमण पोजिटिभ देखिएका एकजना बिरामी निको भइसकेका छन् भने अर्का एकजनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया