संक्रमित युवतीसंगै कतारबाट फर्किएका युवक सम्पर्कमा

चैत्र ११, २०७६ | काठमाडौं

कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै फ्रान्सबाट कतार एयरवेजबाट स्वदेश फर्किएका उदयपुरका एक युवकमा पनि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । उदयपुरको वेलका नगरपालिकाका ती युवामा ज्वरो देखापरेपछि उपचारमा समस्या देखिएको छ । उनी चैत ४ गते कोरोना संक्रमित युवतीसँगै काठमाडौं ओर्लिएका थिए ।

जिम्मेवार निकाय एक अर्कालाई देखाउदै पन्छिएपछि उनको उपचारमा समस्या भएको छ ।स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीलाई आग्रह गरेपनि वास्ता नगरेको बेलका नगर प्रमुख दुर्गाकुमार थापाले बताउनुभयो । आइसोलेसनमा नबसी बाहिर काम गर्दै आएको जानकारी पाएको बताउदै प्रमुख थापाले प्रविधि नभएको बारे माथिल्लो निकायलाई जानकारी गराएपनि एक अर्कोलाई जिम्मा दिंदै पन्छिएको गुनासो गर्नुभयो ।

८ दिनपछि सम्पर्कमा

कारोना भाइरस संक्रमण पुष्टि भएकी युवतीसंगै एउटै विमानमा आएका काभ्रेका २ जना ८ दिनपछि जिल्ला विपद व्यवस्थापन समितिको सम्पर्कमा आएका छन् । ८ दिनको अवधीमा क्वारेन्टाइनमा नबसकेका उनीहरुले देश भित्रै विभिन्न स्थानको भ्रमण गरिसकेका छन् । रुघा, खोकी, ज्वरो लगायतका कुनै पनि लक्षण नदेखिएको भन्दै उनीहरुलाई घरमा नै ‘क्वारेन्टाइन’ मा बस्न पठाइएको छ । दुवै जनालाई सेल्फ क्वारेन्टाइनमा बस्न र सामाजिक दुरी कायम गर्न भनिएको जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यसैबीच जिल्ला विपद व्यवस्थापन समितिले कोरोना महामारी देखिएका मुलुकबाट स्वदेश आएका नेपालीको लगत राख्न स्थानीय तहलाई अनुरोध गरेपनि प्रभावकारी हुन सेकेको छैन । स्वदेश फर्किएकाहरु आफुखुशी क्वारेन्टाइनमा बस्न थालेका छन् ।

संक्रमितको शंका

संक्रमित युवतीसंगै आएका धरानका २ युवामध्ये वडा नम्बर ६ का एक युवकलाई पनि आज बिहानै क्वारेन्टाईनमा पठाईएको छ । उपमहानगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले स्थानीयको सहयोगमा सम्पर्कमा आएका धरान १६ का युवकलाई पनि क्वारेन्टाइनमा पठाउन विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना र्‍यापिड रेस्पोन्स कमिटिसंग समन्वय भईरहेको जानकारी दिनुभयो ।

यस्तै बाँकेको डुडुवा गाउँपालिका–१, होलियाका बिभिन्न तीन गाउँमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ८ जनालाई भेरी अस्पताल रेफर गरिएको छ । बेतहनी स्वास्थ्य चौकीका इन्चार्ज हेमन्त शर्माकाअनुसार, भारतबाट फर्किएका मध्ये संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ३ जनालाई फिबर क्लिनीक तथा एक जना लाइ आइसोलेसन्मा राखिएको छ ।

झापामा समस्या

यसैबीच संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएका झापा गौरादहका ३७ वर्षे एक युवकको ‘स्वाब’ परीक्षणमा समस्या भएको छ । लकडाउनका कारण यातायात तथा हवाई सेवा ठप्प भएपछि ‘स्वाब’ परीक्षणका गर्न काठमाडौं पठाउन नसकिएको मेची अस्पतालले जनाएको छ । ५ दिनअघि कतारबाट घर फर्किएका उनी अहिले सोही अस्पतालमा आईसोलेशनमा छन् । झापा जिल्लामा ४१ जना बिभिन्न अस्पतालमा र ५६ जना होम क्वारेन्टाईनमा रहेको जिल्ला विपद व्यवस्थापन समितिका सचिव जीवन चम्लागाईले जानकारी दिनुभयो ।   


प्रतिक्रिया