दैनिक उपभोग्य वस्तु घरघरमै पुर्‍याउन गृहको निर्देशन

चैत्र १३, २०७६ | काठमाडौं

लकडाउन सुरु भएको तेस्रो दिन आज सरकारले अभाव हुन नदिन उपभोक्ताको घरघरमा दैनिक उपभोग्य वस्तु पुर्‍याउन व्यवसायीलाई निर्देशन दिएको छ । लकडाउन कार्यान्वयनमा आएको तेस्रो दिन आज पनि अवज्ञाका समाचारहरु आएपछि सरकारले नियन्त्रणका लागि भन्दै नयाँ नीति अवलम्बन गरेको हो ।

उद्योग वाणिज्य महासंघ, काठमाडौं उपत्यकामा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आह्वान गरेको छलफलमा काठमाडौंका अधिकांश व्यापारीको उपस्थिति थियो । 

गृहमन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्माद्वारा जारी विज्ञप्तिमा लकडाउन अवधिभर उपभोक्तालाई आवश्यकताअनुसार सामान होम डेलिभरी गर्न र स्थानीय प्रशासनसँग समन्वय गरेर पास लिन व्यवसायीलाई आग्रह गरिएको छ । सामान किन्न जानेलाई भीडभाड नगरी पसल पुगेर फर्कन र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन गृहको अनुरोध छ ।

प्रवक्ता शर्माले लकडाउन अवधिभर अत्यावश्यक खाद्यवस्तुको आपूर्ति, बिक्रीवितरण तथा व्यवस्थापन सहज बनाउन होमडेलिभरीको व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । होम डेलिभरीका लागि टोल फ्रि नम्बर, कार्यालयको नम्बर वा नजिकै रहेका वडा कार्यालयको नम्बरमार्फत उपभोक्तासँग सम्पर्क व्यवस्था मिलाउन पनि गृहले व्यवसायीलाई भनेको छ । 

उपभोग्य वस्तुको होमडेलिभरीमा महानगरपालिका, नगरपालिका तथा वडा कार्यालयहरुबाट सहजीकरण गर्न पनि निर्देशन दिइएको शर्माको भनाई छ । यसका लागि छिट्टै काम थाल्ने व्यवसायीको प्रतिवद्धता छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सबै खाद्यवस्तु भ्यानबाट घरघरमा पुर्‍याउने, सहज आपूर्तिको व्यवस्था मिलाउने, प्रशासनले आवश्यक मात्रामा सवारी पास दिने तथा पसल सञ्चालन, माग संकलन र वितरणमा महानगरीय प्रहरी कार्यालयबाट आवश्यक सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

गृहले जटिल घडीमा कुनै समस्या परेमा त्यसको समाधान तथा कालोबजारी, कृत्रिम अभाव गर्नेको सूचना दिन पनि ११४९ नम्बरमा फोन गर्न वा सुरक्षाकर्मी र सम्बन्धित सरकारी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ । 


प्रतिक्रिया