लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस

चैत्र १६, २०७६ | काठमाडौं

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको समय थप गर्न सरकारलाई सिफारिस गरेको छ । सरकारले पहिलो चरणमा लगाएको लकडाउन प्रभावकारी भएको निष्कर्षसहित समितिको आज बसेको बैठकले बढीमा १४ दिन समय थप गर्न सिफारिस गरेको हो । 

प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव समेत रहेको समिति सदस्य नारायणप्रसाद विडारीले समयबारे निर्णय गर्ने अधिकार भने मन्त्रिपरिषद्लाई भएको बताउनुभयो ।

समिति बैठकले हवाई उडानमा लगाउँदै आएको प्रतिबन्ध आगामी बैशाख ३ गतेसम्मका लागि बढाउने निर्णय गरेको छ । यस्तै, चीनबाट आज ल्याईएका स्वास्थ्य परीक्षण किट र स्वास्थ्य सामाग्रीहरु प्रदेशहरुमा वितरण गर्ने निर्णय गर्दै बैठकले ती स्वास्थ सामाग्रीहरुमध्ये पोर्टेबल पिसिआर मेसिन ५ वटा मात्र रहेकाले प्रदेशहरुमा पठाउने निर्णय भएको बिडारीले जानकारी दिनुभयो ।

लकडाउनका कारण भारतबाट नेपाल प्रवेश गर्न नपाएका कारण सीमामा अलपत्र परेका नेपाली नागरिकलाई परिचयपत्रको आधारमा पहिचान गरी अनिवार्य क्वारेन्टाईनमा बस्ने शर्त सहित नेपाल प्रवेशको अनुमति दिने बिडारीले बताउनुभयो । क्वारेन्टाईनमा बस्न नमान्नेलाई कानूनी कारवाही गर्ने निर्णय पनि बैठकले गरेको बिडारीले जानकारी दिनुभयो ।

अन्य मुलुकमा रहेका नेपालीलाई भने नेपाल राष्ट्र बैंकको समन्वयनमा अभिभावकले पैसा पठाउने गरी व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।

लकडाउनका कारण विपन्न वर्गलाई परेको असर र उनीहरुलाई दिने राहतबारे पनि बैठकमा छलफल भएको भन्दै बिडारीले यसबारे चाडै निर्णय गरिने बताउनुभयो ।  


प्रतिक्रिया