प्रदेश १ मा २८१ जना क्वारेन्टाइनमा , ८ जना आइसोलेसनमा

चैत्र १७, २०७६ | मोरङ

नोवेल कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा सोमबारसम्ममा प्रदेश १ को बिभिन्न जिल्लामा ३ सय ८१ जनालाई क्वारेन्टाइनमा राखेको छ भने १३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

क्वारेन्टाइनमा २९ जना महिला र ३ सय ५२ जना पुरुष रहेको प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ । कोरोनाको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएका २५ जना महिला र ६४ जना पुरुष गरी ८९ जनामा कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अधिकृत क्षितिज भट्टराईले बताए । यस प्रदेशमा हालसम्ममा १ सय ८७ स्थानमा ३ हजार १३ शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ ।

यस्तै, यस प्रदेशको बिभिन्न अस्पतालमा स्थापना गरिएको आइसोलेसन वार्डमा ५ जना महिला र ८ जना पुरुष गरी १३ जनालाई कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको र उनीहरुको स्वाब परीक्षणका लागि नमूना संकलन गरी पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहताले बताए । १ महिला ७ जना पुरुषलाई आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको उनले बताए । यस प्रदेशमा हालसम्ममा ५१ वटा अस्पतालमा २ सय ९७ शय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

प्रदेश १ मा कोरोनाको आंशका गरिएका सोमबारसम्ममा ३१ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा २५ जनामा निगेटिभ भेटिएको प्रतिवेदन आएको मेहताको भनाई थियो ।

प्रदेशभरिमा भारतलगायत तेस्रो मुलुकबाट आएका फरान्सकी १ महिलासहित १३१ जना महिला र ६ सय ४४ जना पुरुष गरी ७ सय ७५ जनालाई होम क्वारेन्टाइनमा राखिएको भट्टराईले बताए । कतारबाट आएका व्यक्तिलाई पनि होम क्वारेन्टाइनमा राखिएको उनले बताए ।

यसैबीच, संघीय सरकारले चीनबाट खरिद गरेर ल्याइएका एक् हजार थान पिपिई सोमबार अपरान्ह नेपाली सेनाको एनए ०६३ स्काई ट्रकबाट विराटनगर आइपुगेको छ ।

संघीय सरकारका प्रतिनिधिले उक्त पिपिइ प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । अन्य सामग्री प्राविधिक कारणले स्काई ट्रकमा ल्याउन नसकिएकाले मालबाहक ट्रकमा आइरहेको मन्त्री घिमिरेले बताए ।

उक्त पिपिइ आजै कोरोना संक्रमणको आशंकामा उपचार भइरहेका बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई बितरण गरिने घिमिरेले बताए । ‘एक हजार थान पिपिइमध्ये १५०/१५० को दरले कोशी र बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र बुधबारबाट नेशनल ट्रेडिङको भवनमा सञ्चालन हुने कोरोना अस्पतालमा २ सय र मेची अस्पतालका लागि ४६ थान प्रदान गर्ने नीति लिएकाछौं,’ उनले भने, ‘बाँकी पिपिइ प्रदेशस्थित १४ वटै जिल्ला स्वास्थ्य कार्यालयमध्ये मोरङमा ३४, सुनसरीमा २४, धनकुटामा १४, तेह्रथुममा १२, संखुवासभामा २०, भोजपुरमा १८, सोलुखुम्बुमा १६, उदयपुरमा १६, खोटाङमा २०, पाँचथरमा १६, ताप्लेजुङमा १८ र इलाममा २० वटा बितरण गर्छौं ।’

यो एक हजार थान पिपिइ निकै थोरै भएको तर अहिले जोखिम मोलेर कोरोना संक्रमणको आशंकामा राखिएको बिरामीको उपचारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि निकै ठूलो राहत भएको मन्त्री घिमिरेले बताए । कोरोनाको संक्रमणको आशंकामा अस्पतालमा भर्ना भएका बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरुको अस्पतालमै खाने र बस्ने प्रबन्ध मिलाएको उनले सुनाए ।

बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको ज्यान जोखिममा पर्न नदिन प्रदेश सरकार सचेत रहेको र उनीहरुका लागि संघीय सरकारले भत्ताको व्यवस्था गरेसँगै प्रदेश सरकारले पनि बिमालगायतको भत्ताको व्यवस्था गरेको उनले सुनाए ।

फोटो

संघीय सरकारले चीनबाट खरिद गरेको पिपिइ नेपाली सेनाको स्काई ट्रकमा विराटनगर विमानस्थलमा ल्याएर प्रदेश १ सरकारले हस्तान्तरण गर्दै । 


प्रतिक्रिया