परीक्षण गरिएका ४३ जनाकै नतिजा ‘नेगेटिभ’

चैत्र २९, २०७६ | पाल्पा

पाल्पाको तीन स्थानमा गरिएको र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत् गरिएको परीक्षणमा कोभिड–१९ को नजिता नेगेटिभ देखिएको छ । जिल्लाको भुवनपोखरी, सिलुवा र रामपुरमा नमुनााका रुपमा ४३ जनाको परीक्षण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीका अनुसार सबैको नतिजा नेगेटिभ आएको छ । यो जिल्लावासीका लागि खुसीको कुरा भएको उनले बताए । उनका अनुसार पाल्पा अस्पतालबाट एक, मिसन अस्पतालबाट एक र लुम्विनी मेडिकल कलेजबाट तीन जनाको स्वाब परीक्षणमा पनि नेगेटिभ देखिएको छ ।

शुक्रबार कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग, समन्वय, सहजिकरण र अनुगमन लगायतका कार्यहरु प्रभावकारी रुपमा संचालन गर्नका लागि गठित कमाण्ड पोष्टका बैठकले जिल्लाका रैनादेवी छहरा, रिब्दीकोट, पूर्वखोला र रामपुरमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको कोभिड–१९ र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत परीक्षण गर्ने निर्णय भएको थियो ।

कोभिड–१९ नेगेटिभ देखिएमा निजहरुलाई थप एक साता घरकै क्वारेन्टाइनमा बस्ने गरी घरमा पठाउने निर्णय भएको थियो । ‘कोहि व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिएमा स्वाब निकाली निजहरुलाई सम्बन्धित पालिकाको एम्बुलेन्स मार्फत अस्पतालमा ल्याई आइसोलेसनमा राख्ने निर्णय भएको हो,’ प्रजिअ सुवेदीले भन्नुभयो, । पहिलो चरणमा र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत् क्वारेन्टाइनमा बसेका बाहेकका व्यक्तिहरुको भने नमुना लिइएको छैन । रैनादेवी छहरामा १०, रिब्दीकोटमा ३, रामपुर नगरपालिकामा ९ र सिलुवामा २१ जनामा र्‍यापिड डायगनोस्टिक टेस्ट किटमार्फत् परीक्षण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।

क्वारेन्टाइनमा बसेर १४ दिन पुगिसकेकाहरुका लागि टेस्ट गरिएको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले बताए । स्वास्थ्य कार्यालय, युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेको । चैत १ गतेपछि जिल्लामा १ हजार बढी भारतबाट भित्रिएपछि ग्रामीण क्षेत्रमा संत्रास फैलिएको थियो ।


प्रतिक्रिया