प्रदेश एकमा उच्च सतर्कता

वैशाख ७, २०७७ | विराटनगर

उदयपुरको एक मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशका विभिन्न जिल्लामा सतर्कता बढाइएको छ । संक्रमित बसेका स्थान आसपासका बासिन्दाको स्वास्थ्य जाँच गर्न थालिएको छ । 

शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टिनमा राखिएको छ । संक्रमित १३ जनालाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रको आइसोलेसनमा राखिएको छ । चिकित्सकको रेखदेखमा उनीहरुको उपचार भइरहेको प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक व्यवस्था तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रदेश प्रहरीले मातहतका कार्यालयलाई त्यस्ता स्थानमा निगरानी गर्न निर्देशन दिएको छ । बसिरहेको स्थानभन्दा अन्यत्र आउजाउ गर्न नदिने, स्वास्थ्य जाँच गराएर सुरक्षित भइ बस्न भन्ने अनि आवश्यक परे सरकारले बनाएका क्वारेन्टाइनमा लगेर राख्ने गरिएको छ । 

उदयपुरलगायत केही स्थानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी स्थानीयको स्वास्थ्य जाँचको काम भइरहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो । प्रदेश १ का विभिन्न स्थानमा रहेका मस्जिदहरुमा स्थानीय प्रहरी र प्रशासनले केही दिन अघिदेखि नै निगरानी गर्दै आएको थियो । 

मस्जिदमा बस्दै आएका विदेशी नागरिकहरुको स्वाब नमुना परीक्षण गर्ने काम पनि भइरहेको छ ।

यसैबीच, संक्रमण फैलन नदिन भन्दै धरान उपमहानगरपालिकाले धरान–चतरा–उदयपुर सडकबाट आउजाउ बन्द गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया