भारत धारचुलामा रहेका नेपाली स्वदेश ल्याएईदैं

वैशाख १८, २०७७ | दार्चुला

– लकडाउनका कारण एक महिना भन्दा बढी समय भारतको सीमा क्षेत्रमा रहेका नेपालीलाई आज स्वदेश ल्याइएको छ । लामो क्वारेन्टाइन अवधि सकिएपनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा हिजो दुई देशका अधिकारीबीच सहमति भएपछि आज उद्धार सुरु गरिएको हो । दार्चुला, बैतडी, बझाङ्सहित १० जिल्लाका धारचुला क्षेत्रमा नाका बन्द भएपछि अड्किएका नेपालीलाई सदरमुकामस्थित खलंगा र महाकाली नगरपालिका ९ दत्तुबाट नाकाबाट उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार बैतडी र बझाङ नागरिकलाई दत्तु नाका र दार्चुलासहित अन्य जिल्लाका भारतमा रहेका नेपाली नागरिकलाई खलंगा नाकाबाट उद्धार गरिदंै छ । गत चैत १३ गतेदेखि भारत पिथौरागढका धारभुलाका पाँच क्वारेन्टाइनमा एक हजार ४० जना नेपाली एक महिनादेखि बसिरहेका छन् । उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि चार दिनदेखि दार्चुला आई बसेका थिए । दार्चुलाका स्थानीयलाई क्वारेन्टाईनमा राख्न तयारी गरिएको छ । उनीहरुलाई सीमा क्षेत्रमा परीक्षणपछि प्रवेश दिइने, उनीहरुको नाम ठेगाना सम्पर्क नम्बर राख्ने र सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्ने गरी पठाउने रणनीति बनाइएको छ । बैतडी र बझांङका नागरिकलाई आजै पठाइने छ । अन्य जिल्लाका नागरिकलाई पठाउन सम्बन्धित जिल्लाका प्रशासनसंग समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनुभयो । 


प्रतिक्रिया