थप ३ जनामा कोरोना, मोरङ र धनकुटामा पहिलो पटक संक्रमण पुष्टि

जेष्ठ ४, २०७७ | विराटनगर

प्रदेश १ का दुई जिल्लाका गरी तीनजनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुईजना मोरङ विराटनगरका र एकजना धनकुटाका छन् । मोरङ र धनकुटामा पहिलो पटक संक्रमित देखिएका हुन् । उनीहरुको स्वाब नमुना परीक्षण गर्दा संक्रमण रहेको पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित विराटनगरका ३६ र २९ वर्षका छन् । 

धनकुटाकी ३४ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा स‌ंक्रमितको संख्या २९५ पुगेको छ । नेपालमा स‌ंक्रमण पुष्टि भएकामध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

आइतबार थपिएका तीनजनासहित प्रदेश १ मा संक्रमितको संख्या ३९ पुगेको छ । ती मध्ये उपचारपछि निको भएर १७ जनालाई डिस्चार्ज गरिएको छ । अरु कोभिड–१९ उपचार केन्द्रमा राखिएका छन् । डिस्चार्ज गरिएकालाई रानीस्थित क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश १ मा संक्रमितमध्ये उदयपुरका ३३, झापाका दुई, मोरङका दुई, भोजपुरका एक र धनकुटाका एकजना छन् ।


प्रतिक्रिया