प्रदेश १ मा ४० हजार बढीमा पीसीआर परीक्षण गरिने

जेष्ठ ९, २०७७ | विराटनगर

प्रदेश १ मा ४० हजारभन्दा बढी व्यक्तिको पीसीआर विधिबाट कोरोना संक्रमण भए, नभएको परीक्षण गरिने भएको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकमा यस्तो निर्णय भएको हो ।

सो बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्विकृत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड–१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले बताउनुभयो ।

यसैबीच प्रदेश १ मा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजना अनुसार इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा होल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ ।

होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या रहने भएको छ । इलाममा २ हजार, झापामा ४ हजार, मोरङमा ५ हजार र सुनसरीमा ४ हजार बेड तयार गरिंदै छ । यी जिल्लाका १० ठाउामा ११ सय ३ वटा बेड बनिसकेका छन् ।


प्रतिक्रिया