हर्था बर्लिनको शानदार जित

जेष्ठ १०, २०७७

हर्था बर्लिनले जर्मन बुन्डेस लिगाको बर्लिन डर्बी मा शानदार जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको डर्बीमा उसले युनियन बर्लिनमाथि ४–० को जित दर्ता गर्‍यो ।

हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयटाले गोल गरे । पहिलो हाफ गोलरहित सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

घरेलु टोलीमाथि गोल फर्काउने युनियन बर्लिनको केही प्रयास पनि विफल भएको थियो । जितसँगै हर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । समान खेलबाटै ३० अंक पुर्‍याएको युनियन बर्लिन १२ औं स्थानमा छ । बुन्डेस लिगाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ५८ अंक छ । बोरुसिया डर्टमन्ड ५४ अंक जोडेर बायर्नलाई पछ्याइरहेको छ ।

बुन्डेस लिगामा आज विभिन्न ५ खेल हुँदैछ । बोरुसिया मोन्चेनग्लाडवाख र बायर लिभरकुसेन, फ्रेइवर्ग र वेर्डर ब्रेमेन, पाडेरवर्न र होफेनहाइन, वल्फवर्ग र बोरुसिया डर्टमन्ड तथा बायर्न म्युनिख र फ्र्यान्कफर्टबीच प्रतिस्पर्धा हुदैछ । 


प्रतिक्रिया