बाग्मती प्रदेशको नीति तथा कार्यक्रम पेश

जेष्ठ १३, २०७७ | हेटौंडा

बागमती प्रदेशले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ । प्रदेश प्रमुख विष्णु प्रसाईले प्रदेश सभाको आजको बैठकमा पेश गरेको नीति तथा कार्यक्रमले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेको छ । संघीय सरकार र स्थानीय तहसँग समन्वय गरी नि:शुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधीको उपलब्धता सुनिश्चित गरिने, प्रदेश सरकारले कोभिड–१९ का कारण सिर्जना भएको असहज परिस्थितिबाट विपन्न नागरिकको जीवनमा पर्न सक्ने असरलाई सम्बोधन गर्न स्थानीय तहसँगको सहकार्यमा विशेष कार्यक्रम सञ्चालन गर्ने विषय प्राथमिकतामा राखिएको छ ।

 प्रदेश सरकारले कृषिमा आत्मनिर्भर हुने गरी विशेष कार्यक्रम बजेट मार्फत सम्बोधन गर्ने जनाएको छ । प्रदेश सरकारले विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषि सम्बन्धी अनुभव बटुलेका युवाहरुलाई ‘कोभिड विशेष कृषि कार्यक्रम’ मा समावेश गर्ने नीति लिएको छ । नागरिकको खाद्य सुरक्षाको प्रत्याभूतका लागि सबै तहका सरकारबीच सहकार्य गरी बहु–आयमिक कृषि उत्पादनमा जोड दिदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाइने नीति लिइने प्रदेश प्रमुख प्रसाईले बताउनुभयो । प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी परिचय पत्रको सुरुआत गरिने उल्लेख छ । 


प्रतिक्रिया