गड्डाचौकीबाट करिब ७ सय नेपालीहरु भित्रिए

जेष्ठ १३, २०७७ | कञ्चनपुर

कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट आज करिब ७ सय जना नेपाली स्वदेश भित्रिएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका उनीहरुको नाकामै सबै विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । 

गड्डाचौकी नाकाबाट हिजोदेखि नेपालीहरुलाई भित्र्याउन सुरु गरिएको हो । दोस्रो दिन आज बिहानैदेखि विभिन्न क्षेत्रबाट पैदल र सवारी साधनमा आएका उनीहरुलाई पालैपालो भित्र्याएर सम्बन्धित जिल्लातर्फ पठाइएको छ । सशस्त्र प्रहरीको झलारी स्थित ३५ नम्बर गणका एसपी वीर सिंह साहुका अनुसार आज गड्डाचौकी नाकाबाट ६ सय ९५ जना भित्रिएका छन् ।

 उनीहरुलाई दशगजाबाटै सवारी साधनमा राखेर सम्बन्धित स्थानीय तहतर्फ पठाएको उहाँले जानकारी दिनुभयो । विभिन्न अवैध नाकाबाट लुकिछिपि भित्रिनेहरुका कारण संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजोदेखि गड्डाचौकी नाकाबाट भित्र्याउन सुरु गरेको हो । सोही नाकाबाट डेढ सय जना भारतीय नागरिक पनि स्वदेश फर्किएका छन् ।


प्रतिक्रिया