भारतबाट नेपाल प्रवेश गर्ने क्रम जारी, गौरीफन्टाबाट जेठयता ४१ हजार भित्रिए

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १८, २०७७ | काठमाडौं

कैलालीको गौरीफन्टा नाकाबाट जेठ महिनामा मात्रै ४१ हजार भन्दा बढी नेपाल भित्रिएका छन । आजमात्रै ३ हजार ४ सय बढी भित्रिएका छन । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार पछिल्लो एक सातादेखि गौरीफन्टा नाकामा थेगि नसक्ने गरि नेपाली आईपुगेका हुन् । 

उनीहरुलाई सम्वन्धित जिल्ला र स्थानिय तहमा पठाउन कठिन भईरहेको जोशीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको सख्या बढ्दै गएपछि स्कुल, खाली भवन सवै क्वारेनटीनमै परिणत हुदै गएका छन । हिजो बेलुका सम्मका साढे ३६ हजार भन्दा बढी जनालाई क्वारेन्टीनमा राखिएको छ । 

स्कुल तथा खाली भवन समेत अपुग भइसकेकाले स्थानिय तहले क्वोन्टाईनको मापदण्डलाई पुरा गर्न नसकेको प्रदेश स्वास्थय निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानिय तहमा १ हजार १ सय १९ क्वारेन्टाईनमा ४४ हजार ३ जनाको लागि बेडको ब्यवस्था गरिएको छ ।

त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट आजपनि ३ हजार बढी नेपालीहरु भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार दशगजामा पुगेका सबै ३ हजार ५८ जनालाई भित्र्याएको हो । दशगजाबाट भित्र्याइएका सबैलाई आ–आफ्नो जिल्लातर्फ पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

भारतमा लकडाउन खुकुलो भएसंगै नेपाल भित्रिनेको संख्या दिनहुं बढ्दै गएको छ । दिल्ली, मुमवइ, बेङ्लोर लगायतका स्थानबाट धमाधम नेपालीहरु आउन लागेका हुन् । आज गड्डाचौकी नाकाबाट १ सय ७ जना भारतीय नागरिकहरु भारत फर्किएका छन् ।

यस्तै जोगबनी नाका भएर आजपनि भारतबाट आएका ७६ जनालाई स्वदेश प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ । नेपालमा रहेका थप १ सय २५ जनालाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ ।

(धनगढी : मोहन बुढाएर, कञ्चनपुर : भवानी भट्ट र विराटनगर : माधव घिमिरे)


प्रतिक्रिया