सुरक्षित मातृत्वमा नेपालले हासिल गरेको उपलब्धी गुम्ने खतरा बढ्यो : डा. राणा

जेष्ठ १९, २०७७ | काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) ले गर्दा लम्बिएको लकडाउनका कारण नेपालले एक दशक अघि सुरक्षित मातृत्वका क्षेत्रमा हासिल गरेको उपलब्धी गुम्ने खतरा बढेको यस क्षेत्रका विज्ञले बताएका छन् । 

सुरक्षित मातृत्वको क्षेत्रमा लामो समयदेखि क्रियाशील डा. आरजु राणा देउवाले कोरोना रोकथाम र नियन्त्रणमा केन्द्रित हुँदा गर्भवती, सुत्केरी र नाबालकको ज्यान जोगाउने तर्फ कसैले ध्यान नपुर्‍याएको बताउनुभयो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले कोरोना अस्पताल जस्तै महामारीकाबीच प्रसूति सेवा चुस्त राख्न छुट्टै अस्पतालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कंग्रेसकी नेतृ समेत रहेकी देउवाले लम्बिँदो लकडाउनले मातृ मृत्युदर बढाएको र यसले कालान्तरमा समाजमा ठूलै असर गर्ने संकेत गर्नुभयो । लकडाउनले गर्दा अस्पतालसम्म गर्भवती र सुत्केरीको पहुँच नहुँदा ५६ जना भन्दा बढीले ज्यान गुमाइसकेको उहाँले बताउनुभयो । 

आत्महत्यासँगै अन्य नसर्ने रोगबाट पनि नागरिकहरुले अकालमा ज्यान गुमाउने अवस्था सिर्जना भएको भन्दै उहाँले गम्भीर बन्न सरकारलाई आग्रह गर्नुभयो ।


प्रतिक्रिया