उच्च सतर्कता अपनाएर बजेट तर्जुमा गरेको अर्थमन्त्री खतिवडाको भनाई

जेष्ठ १९, २०७७ | काठमाडौँ

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष आउन सक्ने चुनौतिको आंकलन गरी उच्च सतर्कता अपनाएर बजेट तर्जुमा गरेको बताउनुभएको छ । आर्थिक वर्ष २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खतिवडाले अनुमानलाई यथार्थ बनाएर बजेट तर्जुमा गरेको बताउनुभयो । 

चालु आर्थिक वर्षका योजना फागुन यता पूरा हुन नसकेको र यी योजनालाई समेत ध्यानमा राखेर बजेटको आकार तय भएको उहाँको भनाई छ । कोभिड–१९ का कारण उत्पन्न परिस्थितिका कारण स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री खतिवडाले संघीय संसदलाई जानकारी गराउनु भयो । उहाँले कोरोना संक्रमणको रोकथाम सरकारको पहिलो दायित्व भएकाले अपुग भए मन्त्रालयको बजेटबाट रकमान्तर हुने बताउनुभयो ।

 यस्तै उहाँले सामुदायिक विद्यालय निजीलाई सुम्पन खोजेको नभइ गुणस्तर सुधारमा सहकार्य गर्न चाहेको दाबी गर्नुभयो । अर्थमन्त्री खतिवडाले अमेरिकासँग गरिएको एमसीसी सम्झौताका परियोजना बजेटमा राखेको स्वीकार गर्नुभएको छ । 

उहाँले विगत तीन वर्षदेखि एमसीसीमा रहेका परियोजना बजेटमा राख्दै आएको जानकारी गराउनुभयो । विद्युतिय सवारी साधनको कर घटाउन नसक्ने पनि मन्त्री खतिवडाले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया