थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि

जेष्ठ २०, २०७७ | काठमाडौं

– पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ जना पुगेको जानकारी दिनुभयो ।

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिलेसम्म १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेको जनाएको छ । आइसोलेसनमा १ हजार ८ सय २५ जना छन् भने २४ घण्टामा थप ४५ जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमणलाई जितेर घर फर्कनेको संख्या २ सय ६६ पुगेको छ । 

मन्त्रालयले आरडीटी र पिसिआर दुबै विधिबाट परीक्षणको दायरा बढाएको जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ । ७७ मध्ये ६१ जिल्लामा संक्रमण फैलिसकेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । साथै मन्त्रालयले सुत्केरी सेवा र एम्बुलेन्स सेवालाई अत्यावश्यक सेवाका रुपमा राखी काम गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया