बेलझुण्डीमा कोरोना अस्पताल भरियो

पुरानो तस्बिर 

जेष्ठ २१, २०७७ | दाङ

दाङको बेलझुण्डीस्थित कोरोना बिशेष अस्पताल भरिएपछि थप कोरोना संक्रमितलाई राख्ने ठाउँ अभाव भएको छ । सोमबार र मंगलबार संक्रमण पुष्टि भएका १७ मध्ये राप्ती गाउँपालिकाका दुई जनालाई नेपालगञ्ज लगिएको छ भने घोराही र बंगलाचुलीका अन्य १५ जना अझै क्वारेण्टाइनमै छन् । 

५१ जना कोरोना संक्रमित भर्ना भएको र अब थप राख्ने ठाउँ नभएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले बताउनुभयो । अस्पतालमा प्रदेश ५ का बिभिन्न जिल्लाका संक्रमित छन् । कोरोना अस्पतालमा १ सय शैयाको क्षमता भएपनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । 

अहिले थप संक्रमितलाई क्वारेण्टाइनमै अरुभन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । अहिले घोराहीको दक्षिण अमराईस्थित फनपार्क र लमहीको नेत्रलाल अभागी स्मृती भवनमा आइसोलेसन शैयाहरु तयार पार्ने काम भैरहेको उहाँले बताउनुभयो । 

अब बिस्तारै हरेक स्थानीय तहमै क्वारेण्टाइनलाई आइसोलेसनका रुपमा व्यवस्थित गर्नुपर्ने समय आएको स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले बताउनुभयो । भारतबाट आउने मानिसहरुको संख्या बढ्दै गएको र संक्रमितहरु पनि थपिदै गएकाले सबैलाई अस्पतालमा राख्न कठिन हुने उहाँले बताउनुभयो । दाङमा संक्रमितहरुको संख्या ५४ पुगेको छ । 


प्रतिक्रिया