भारतबाट पर्सा फर्किएका थप ७ जनामा कोरोना संक्रमण

जेष्ठ २१, २०७७ | वीरगन्ज

भारतबाट फर्किएका पर्साका तीन गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कालिकामाई गाउँपालिकाका ४ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना र विन्दवासनी गाउँपालिकाका एक जना गरि सातजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताउनुभयो ।

नारायणी अस्पतालको पीसीआर मेसिनमा गरिएको स्वाब परीक्षणमा मंगलबार साँझ एकजना र बुधवार विहान ६ जनाको रिर्पोट पोजेटिभ आएको डा.उपाध्यायले बताउनुभयो । गत जेठ १४ मा भारतबाट फर्किएका उनीहरुलाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।

कालिकामाई गाउँपालिकाका स्वास्थ्य प्रमुख योगेन्द्र चौरसियाकाअनुसार संक्रमित हुनेमा कालिकामाई २ भेडियारी निवासी ३० वर्षीय र ४५ वर्षीय पुरुष, वडा एक तीनडोबियाका एक ३० वर्षीय र एकजना वडा ५ विरन्चीबारवाका १६ वर्षीय युवक छन् । ८ दिन अगाडि भारतबाट फर्किएका उनीहरुलाई कालिकामाई गाउँपालिकाको हरिहरपुर विर्तामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । गत आइतबार २१ जनाको थ्रोट स्वाब संकलन गरिएकोमा चारजनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

सखुवाप्रसौनी गाउँपालिकाका स्वास्थ्य प्रमुख राजेश रौनियारले गत जेठ १४ मा भारतको लुधियाना र बनारसबाट फर्किएका दुईजनामा कोरोना संक्रमण भएको जानकारी दिनुभयो । 

‘सखुवाप्रसौनी गाउँपालिका–२ गुलरिया टोलका ४९ वर्षीय र जमुनियाका २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो, ’उहाँले भन्नुभयो, ‘गत सोमबार देउरवानाको क्वारेन्टाइनमा रहेका २४ जनाको स्वाब संकलन गरिएको थियो, जसमध्ये दुइजनामा पोजेटिभ आएको हो ।’ 

यसैगरि मंगलबार साँझ विन्दवासनी गाउँपालिकाको झौवा स्थित क्वारेन्टाइनमा रहेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  


प्रतिक्रिया