नेता झाले भन्नुभयो, "सरकारलाई काउन्टर दिन संशोधन प्रस्ताव ल्याएका हैनौं"

जेष्ठ २२, २०७७ | काठमाडौं

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता अनिलकुमार झाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको काउन्टर दिन आफूहरुले अर्को प्रस्ताव नल्याएको बताउनु भएको छ । 

संविधान निर्माण गर्ने बेलादेखि नै आफ्ना मुद्दाहरु ओझेलमा पार्ने प्रयास भएको र त्यसैलाई पूरा गराउन मात्रै अहिले नयाँ प्रस्ताव ल्याइएको उहाँले स्पष्ट पार्नुभयो । 

नागरिकता, प्रदेश सीमाङ्कन हेरफेर र राष्ट्रियसभाका मतदाता सम्बन्धी आफ्नो प्रस्तावमा सरकारले दिने प्रतिक्रियाका आधारमा संसदमा दर्ता भएको प्रस्तावको पक्ष वा विपक्षमा उभिने निर्णय राजपाले लिने उहाँको भनाइ थियो ।

‘अब सरकारले किन ल्यायो भन्ने कुरा त सरकारसँग सोध्ने हो । सरकारलाई काउन्टर प्रस्ताव यो होईन । उहाँले भन्नुभयो, हाम्रो प्रस्ताव अलग छ, उहाँहरुको प्रस्ताव अलग छ । यो कुनैपनि एजेण्डा भन्दा कम महत्वपूर्ण एजेण्डा छैन । कुनै प्रकारको र कसैप्रति वा कुनै संशोधन प्रति हाम्रो दुर्भाव होईन । एकदमै सदभाव हो ।’

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले संविधान जारी गर्ने बेलामै विमति रहेका विषयहरुमा त्यसपछि बनेका सरकारले कहिल्यै सम्बोधन गर्न नचाहेकाले समस्या ज्यूँका त्यूँ रहेको उल्लेख गर्नुभयो । प्रदेश सीमाङ्कनको विषयमा पनि राष्ट्रिय सहमति नरहेकाले त्यसलाई वैज्ञानिक र व्यवहारिक रुपमा हल गर्नुपर्ने आफूहरुको माग गरेको नेता झाले बताउनुभयो ।

‘प्रदेशको जुन संरचना बनेको त्यो नै वैज्ञानिक भएन । न त व्यवहारिक छ न वैज्ञानिक न माग बमोजिम नै छ । यो कसको माग बमोजिम आयो भन्ने कुरा पनि थाहा छैन । त्यसैले त्यो चिजहरुलाई एक थान संविधान भन्ने नारा लाग्यो, उहाँले भन्नुभयो, ‘हामीले नेपालको संविधान सबैको संविधान बनाउनु पर्छ भनेर लाग्यौं । अब एकथान संविधानलाई सबैको संविधान बनाउनका निम्ति माग भए बमोजिमको विषयमा एक्ससाइजमा जानुपर्दछ । र त्यो उचित छ भने त्यो गरिनुपर्दछ ।’

अतिक्रमित नेपाली भूभाग फिर्ता ल्याउने भन्ने सरकारी कदमबारे राजपा अध्यक्ष मण्डलका सदस्य झाले २ मुलुकबीच सम्वादमा जोड दिनुभयो । अहिले फिर्ता ल्याउन खोजिएको भन्दा धेरै जमिन नेपालले कुनै समय भोगचलन गरिसकेको भन्दै त्यातिर पनि ध्यान पुर्‍याउन उहाँले आग्रह गर्नुभयो ।

‘कहाँ गएको थियो भूमि जुन हामी फिर्ता ल्याउन लागिरहेका छौं । नेपालको भूमि त पहिलेदेखि त्यहीँ छ । त्यो त नेपाल र भारत सरकारबीच भएको सम्झौता बमोजिम नै अगाडि बढेको जस्तो मलाई लाग्छ, नेता झाले भन्नुभयो, जहाँसम्म फिर्ता ल्याउने र थप्ने कुरा छ, गंगासम्म नेपालको सिमाना थियो त्यो पनि फिर्ता ल्याउने कि, त्यतातिर ध्यान कसैको जाँदैन । हाम्रो त त्यो पनि दुखेसो छ । उतातिरको कुरा गर्दा पनि राम्रो हुन्थ्यो । धेरै भूभाग उताबाट पनि आउँथ्यो ।’


प्रतिक्रिया