कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या १० पुग्यो, थप ३३४ जनामा संक्रमण पुष्टि

जेष्ठ २२, २०७७ | काठमाडौं

नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्‍वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ६३४ पुगेको बताउनुभयो । रौटहट, बाग्लुङ, दैलेख, मुगु, सिन्धुली, म्याग्दी र स्याङ्जामा संक्रमितको संख्या थपिएको हो । 

यसैबीच कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । गत २० गते पाल्पास्थित क्वारेनटीनमा रहेका पुरुषको मृत्यु भएको र उनमा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया