लकडाउन खुकुलो पार्ने योजना ल्याउन उच्चस्तरीय समितिलाई निर्देशन

जेष्ठ २२, २०७७ | काठमाडौं

लकडाउनलाई बिस्तारै खुकुलो पार्दै कोरोना भाइरसँग कसरी लड्ने भन्ने योजना ल्याउन मन्त्रिपरिषद्ले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई जिम्मेवारी दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मोडालिटीको कार्ययोजना दुई दिनभित्र पेस गर्न समितिलाई जिम्मा दिने निर्णय गरेको हो । बैठकले लकडाउन खुकुलो कसरी पार्ने र विदेशबाट आउन चाहने नेपालीलाई कसरी ल्याउने तथा ल्याएर कहाँ व्यवस्थापन गर्ने भन्नेबारे छलफल गरेको एक मन्त्रीले जानकारी दिए ।

विकल्प बिना सरकारले लकडाउन बढाएको भन्दै व्यवसायीहरुले सरकारले लकडाउन खुकुलो नपारे त्यसलाई उल्लंघन गर्ने चेतावनी समेत दिएपछि यस विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बसेको थियो । लकडाउनको ७३ दिन भइसक्दा पनि सरकारले जनताको दैनिकी सहज हुने कुनै निर्णय नगरेको भन्दै आलोचना एवं लकडाउनको अवज्ञा गर्ने स्वर बढिरहेका बेला बसेको मन्त्रिपरिषद् बैठकले राहत तथा लकडाउन खुकुलो पार्ने निर्णय गर्ने अपेक्षा गरिएको थियो ।


प्रतिक्रिया