पोखरामा पहिलोपटक संक्रमण

जेष्ठ २४, २०७७ | पोखरा

–गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलोपटक एक ५९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी कास्कीकै रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले भर्खर निकालेको विज्ञप्ति अनुसार प्रदेशभरी १७ नयाँ संक्रमित भेटिएका हुन । उनीहरुमा स्याङजाको वालिङ नगरपालिकाका ८, हरिनास गाउँपालिकाका २, बागलुङको तारखोला गाउँपालिकाका १, पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाका ३ जना रहेका छन । उनीहरु सबै पुरुष हुन । 

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेशनमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले बताए । प्रदेशभरी कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । उनीहरुमध्ये तीन जना उपचारपछि निको भएका छन ।

यसअघि शुक्रबारमात्र पोखरा महानगरपालिकामा बस्दै आएका ६० वर्षका एक व्यक्तिमा काठमाण्डौमा उपचारका क्रममा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बिरामी अवस्थामा कोठामा भेटिएका ती व्यक्तिसंग धेरैजना सम्पर्कमा थिए । उनलाई उपचारका लागि गत मंगलबार हेलिकोप्टरबाट काठमाण्डौ लगिएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ट्रेसिङको काम शुक्रबारदेखिनै सुरु गरेको जनाएको छ । 


प्रतिक्रिया