प्रधानमन्त्रीको अहंकारले कोभिड संक्रमण नियन्त्रण बाहिर : सांसद थापा

 तस्बिर : संघीय संसद सचिवालय ।

जेष्ठ २७, २०७७ | काठमाडौं

नेपाली कांग्रेसले कोभिड १९ संक्रमण नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्ब रुपैयाँ बराबरको हिसाबकिताव बुझाउन सरकारलाई आग्रह गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले सम्बन्धित क्षेत्रबाट प्राप्त भएको सुझाव बेवास्था गर्दै सरकारले कोभिड संक्रमण नियन्त्रणमा हेलचेक्र्ुयाईं गरेको आरोप लगाउनुभयो ।

थापाले भन्नुभयो, 'हामीलाई अब उत्तर चाहिन्छ । १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ? ५ वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा किट किनेर १० अर्ब रुपैयाँको हिसावकिताव देखाउन पर्दैन ? यस्तो राष्ट्रिय विपत्तिका बेलामा भ्रष्टचारमा लिप्त हुने ? यो निर्लज्जताको पराकाष्टा हो । हामीलाई हिसाब चाहिन्छ ।'

कोभिड नियन्त्रणका लागि भन्दै सरकारले गठन गरेको उच्चस्तरीय समितिबारे सदनलाई जानकारी नगराएको प्रति पनि कांग्रेसले अपात्ति जनाएको छ । कोभिड नियन्त्रणका लागि सरकार असफल भएको चर्चा गर्दै सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारका कारण संक्रमण भयावह बन्दै गएको आरोप लगाउनुभयो ।

थापाको प्रश्न थियो, 'यसको दोष कस्को ? के कानुनले रोकेको हो ? के ढुकुटीमा पैसा नभएर रोकेको हो ? के कांग्रेसले रोकेको हो ? के अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केवल सवै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अहंकारले रोकेको हो । सरकारको अकमण्र्यताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो आवस्था व्यहोर्नु परेको छ । कांग्रेसको निष्कर्ष छ यो सरकारकाले कोरोनाको लडाईंबाट अब हामीलाई पार लगाउन सक्दैन ।'

प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारको स्पष्ट जवाफ नआए सदनदेखि सडकसम्म बिरोधका कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च अदालतलगायतले दिएको निर्देशन अवज्ञा गर्दै सरकारले संक्रमित र संक्रमणको आशंकामा क्वारेन्टिन र आईसोलेशनमा बसेका व्यक्तिको जीवनसँग सरकारले खेलवाड गरेको सांस्द थापाको आरोप थियो । लकडाउनका कारण भोकबाट मारिएका, आत्महत्या गरेका, औषधिको अभावमा मारेका, क्यारेन्टिनमा मरेका व्यक्तिको जिम्मेवारी लिन सरकारलाई थापाको आग्रह थियो । 


प्रतिक्रिया