संविधान संशोधन विधेयकमा राष्ट्रिय दलको समर्थन

 तस्बिर : संघीय संसद सचिवालय ।

जेष्ठ २७, २०७७ | काठमाडौं

सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सवै दलले समर्थन जनाएका छन् । नेपालको वास्तविक भूगोल समेटेर नक्सा सार्वजनिक भएपछि निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक ल्याएको थियो । 

गत जेठ १८ गते संसदमा पेस भएको सो विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिदै सांसदहरुले सरकारी पहल स्वागतयोग्य रहेको बताए । विधेयक सर्वसम्मत पारितका लागि उनीहरुको एक अर्कालाई आग्रह थियो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सैद्धान्तिक छलफलपछि विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि खुला भएको छ ।

नेकपाका कृष्णभक्त पोखरेलले नेपालसँग भएका दशीप्रमाणले लिम्पियाधुरासहितको भूभाग नेपालको भएको प्रष्ट देखिएपनि भारत सरकारले कालापानीमा सुरक्षाफौज स्थापना गर्दै सडक निर्माण गरेर सार्वैभौम नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेपालका हरेक सरकारले लिम्पियाधुरासहितको सो भूभाग नेपालको हो भन्ने स्मरण गराउने गरेपनि भूभागलाई समेटेर वर्तमान सरकारले गरेको पहल प्रशंसनीय रहेको बताउनुभयो ।

समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले सुगौली सन्धीको धारा ५ ले काली नदी पश्चिमको सवै भूभाग नेपालले गुमाउनु परेको यथार्थ रहेपनि वर्तमान सरकारको पहलमा नेपालको वास्तविक नक्सा कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

राजपाका लक्ष्मणलाल कर्णले नेपालको भौगोलिक अखण्डता र स्वाधिनताप्रति द्विमत नरहेको स्मरण गराउदै सरकारी पक्षबाट भइरहेका अनर्गल कुराको बिरोध गर्नुभयो । संविधान संशोधनको प्रस्तावमा केही प्राविधिक त्रुटी रहेको स्मरण गराउँदै नेता कर्णले प्रधानमन्त्रीले कुटनीतिक तहबाटै समस्या समाधान गर्ने आश्वासन दिनु सकारात्मक भएको बताउनुभयो ।

कानुन मन्त्री तुम्बाहाङ्फले छलफलका क्रममा सम्पूर्ण दलहरु एकजुट भएकोप्रति खुशी व्यक्त गर्दै आजको दिन नेपालीहरुका लागि महत्वपूर्ण दिन भएको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मत पारित गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोली बिहान ११ बजेका लागि बोलाईएको छ ।  


प्रतिक्रिया