इनरुवाको आगलागी ६ घण्टापछि नियन्त्रणमा

जेष्ठ ३२, २०७७ | विराटनगर

– सुनसरी सदरमुकाम इनरुवा बजारमा लागेको आगो करिब ६ घन्टापछि नियन्त्रणमा आएको छ । स्थानीय हनुमान वस्त्रालयबाट सुरु भएको आगोले छेउको सिर्जना फाइनान्सको कार्यालयमा पनि क्षति पुगेको छ । आगोले वस्त्रालयमा निकै क्षति भएको अनुमान गरिएको छ । यस्तै फाइनान्सको कार्यालयमा पनि पुरै क्षति पुगेको प्रहरीले जनाएको छ । नजिक रहेको सप्तकोसी हार्डवेयरमा पनि क्षति पुगेको जनाइएको छ ।

धरान, इटहरी, दुहबी, बराहक्षेत्र र सुन्दरहरैंचाका दमकल प्रयोग गरी सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । इनरुवा नगरपालिकासंग पनि दमकल छ तर बिग्रेका कारण प्रयोग हुन सकेन ।

आफ्नै नगरका भएको दमकल आवश्यक परेका बेला प्रयोग हुन नसकेको भन्दै नगरबासीले आक्रोस पोखेका छन् ।

आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन । वस्त्रालय रहेको घरमा बिजुली सर्ट भएर सुरु भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट भएको धनमालको क्षति यकिन गर्न विवरण संकलन भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया