नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग

 नेकपा स्थायी कमिटी बैठकमा सहभागी नेताहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय ।

असार १६, २०७७ | काठमाडौं

भारतको सहयोगमा सरकार ढाल्न आफ्नै पार्टीका नेताहरु समेत सक्रिय रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका कारण नेकपा स्थायी कमिटी बैठक नै प्रभावित भएको छ । कार्यकारी प्रमुखबाट आएको सो अभिव्यक्ति गैरजिम्मेवार पूर्ण रहेको भन्दै शीर्ष नेताहरुले समेत प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।

अन्तर्राष्ट्रिय सीमा समस्या र कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारको एजेण्डासहित सुरु स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको बिषय प्रवेश गराएपछि अधिकांश नेताहरु अर्का अध्यक्ष ओलीको अभिव्यक्तिबिरुद्ध खनिएका थिए । 

काठमाडौंमा अस्ति आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतको सहयोगमा आफ्नै दलका नेता र पूर्वमन्त्रीहरु समेत सरकार गिराउने चलखेलमा लागेको संघीन आरोप लगाउनुभएको थियो । 

बैठकको सुरुमै धारणा राख्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई अभिव्यक्तिको आधार स्पष्ट पार्न आग्रह गर्दै राजीनामा माग्नु भएको थियो । प्रधानमन्त्रीको राजीनामा नयाँदिल्लीले नभई आफूले मागेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार परिवर्तनका लागि नेकपा नेताहरु नै सक्रिय रहेको भन्ने अभिव्यक्तिले पार्टीमा ठूलो आघात पुगेको चर्चा गर्नुभयो ।

बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायत आज बोल्ने १८ जनामध्ये अधिकांश नेताले प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी सञ्चालन हुन नसकेको तर्क गर्दै पद छाड्न सुझाएका थिए । 

भारतीय राज्यसंयन्त्र वा दुतावासले सरकार ढाल्न खोज्यो भनेर बोल्नुको कुनै अर्थ नभएको भन्दै नेताहरुले पार्टीले प्रधानमन्त्री बनाएको र पार्टीले नै चाँहदा हटाउन सक्ने बताएका थिए । तथ्यप्रमाण सहित अभिव्यक्ति आएको भए भारतीय अधिकारीहरुलाई कारवाही प्रक्रिया किन अघि नबढाएको भन्दै नेताहरुले कार्यकारी प्रमुखबाट आएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता कमजोर बनाउने तर्क गरेका थिए ।

बैठकमा सहभागी एक नेताकाअनुसार, सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारले उल्लेख्य काम गरेको भएपनि पार्टीले स्वामित्व ग्रहण नगरेको, सरकार सञ्चालनमा पार्टीबाटै असहयोग भएको बताउनुभएको थियो । सरकार गठनपछिका कामको फेहरिस्ता प्रस्तुत गरेपनि प्रधानमन्त्री ओलीले आफ्नै अभिव्यक्तिबारे भने स्पष्ट पार्न नचाहानु भएको ती नेताको भनाई छ ।

नेकपा बैठक भोली पुन: बस्नेछ । भोलीको बैठकमा बोल्न चाहाने अन्य सदस्यहरुले समेत प्रधानमन्त्रीको अभिव्यक्तिबारे धारणा राख्ने नेताहरुको भनाई छ । 


प्रतिक्रिया