नेकपा भित्रको आन्तरिक किचलो चरम उत्कर्षमा

असार १८, २०७७ | काठमाडौं

– सत्तारुढ नेकपा भित्रको आन्तरिक किचलो चरम उत्कर्षमा पुगेको छ । स्थायी समिति बैठक आगामी शनिबारसम्मका लागि स्थगित भएको छ । सरकारले बजेट अधिवेशन अन्त्य गरेको र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली लगातार अनुपस्थित भएपछि स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।

यसअघि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बिहान तत्काल बजेट अधिवेशन अन्त्य नगर्ने र मन्त्रीपरिषद बैठक नराख्न भएको सहमति कार्यन्वयन नभएपछि स्थायी समिति बैठक तत्कालका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । पछिल्लो घटनाक्रमसंगै पार्टी एकता प्रक्रिया गम्भिर संकटमा परेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आगामी शनिबार स्थायी समिति बैठक अघि अध्यक्षद्धय तथा पार्टीका शीर्षस्थ नेताबीच सहमतिका लागि अधिकतम पहल गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । स्थायी समिति बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिरहँदा सरकारले संसदको बजेट अधिवेशन अन्त्य गरेपछि आशंका थप बढेको छ । अध्यक्ष ओलीले पार्टी फुटाउन अध्यादेश ल्याउन लागेको विरोधी खेमाको आशंका छ । यसैसन्र्दभमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि राष्ट्रपति भण्डारीसंग छुट्टै भेटवार्ता गर्नुभएको छ । भेटपछि राष्ट्रपति भण्डारीले तत्काल अध्यादेश आउने सम्भावना नरहेको बताएको दाहाललाई उद्यृत गर्दै श्रेष्ठले बताउनुभयो ।

सरकारका नियमित काम कारवाही, भारतसंगको सिमा विवाद, एमसीसी कार्यन्वयन लगायत विभिन्न एजेण्डामा छलफल गर्न बोलाईएको स्थायी समिति बैठक प्रधानमन्त्रीको राजिनामामा आएर रोकिएको छ । 


प्रतिक्रिया