महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिन कांग्रेस बैठक बस्दै

असार २१, २०७७ | काठमाडौं

१४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकालाई अन्तिम रुप दिने योजनासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आगामी फागुनमा महाधिवेशन गर्ने तयारी थालेको कांग्रेसले पदाधिकारी बैठकले सिफारिस गरेको तालिकामाथि छलफल गरि समय निर्धारण गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

बैठक दिउँसो २ बजेपछि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । गत पुस ११ गते बसेको कांग्रेसको केन्द्रीय कार्य समितिले गाउँ–नगर वडा देखि केन्द्रीय महाधिवेशनको मिति तय गरेपछि कांग्रेसमा आन्तरिक विवाद चुलिएको थियो । 

संस्थापन र इतरपक्षबीच माघ १० गते १४ औं महाधिवेशनको समय तालिकाका विषयमा सहमति जुटेका थियो । आजको बैठकले सो सहमतिलाई थप छलफल गरि निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । कोरोना भाइरसका कारण हुन सक्ने जोखिम कम गर्दै उपयुक्त तालिका सार्वजनिक गर्ने तयारी कांग्रेसको छ ।

पदाधिकारी बैठमा तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्ने तथा विभिन्न तहको अधिवेशन सम्बन्धी कार्यतालिका र कार्यविधि परिमार्जनसहित नयाँ प्रस्ताव केन्द्रीय समितिमा पेश गर्ने मोटामोटी सहमति बनेको थियो । पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्न पनि नेताहरु सहमत देखिएका छन् । कांग्रेसले १४ औं महाधिवेशनको फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

बैठकले छलफल नै नगरी सरकारले एकलौटी रुपमा गरेको संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधि, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार लगायत बिषयमा समेत धारणा तय गर्ने प्रवक्ता शर्माको भनाई छ । 


प्रतिक्रिया