कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

असार २२, २०७७ | काठमाडौं

महाधिवेशनमा केन्द्रित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दैछ । ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी १४ औं महाधिवेशनको परिमार्जित कार्यतालिकामाथि थप छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

कोरोना भाइरस महामारीका कारण कांग्रेसले केन्द्रीय महाधिवेशनको मिति यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन गर्ने तयारी गरेको हो ।

आगामी फागुनमा तय भएको कांग्रेस महाधिवशेन सफल बनाउन माघ सम्ममा सबै प्रक्रिया पुर्‍याउनु पर्ने भएकाले कोरोना भाइरस महामारी, चाडपर्व र हिउँदको समयलाई समेत ख्याल गरिने प्रवक्ता शर्माको भनाई छ ।

आजको बैठकमा सत्तारुढ दलभित्रको आन्तरिक द्वन्द्वले राजनीतिमा पार्ने प्रभाव, कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयास, सरकारका पछिल्ला गतिविधी संसद अघिवेशन अन्त्य लगायत बिषयमा पनि छलफल गर्ने कार्यतालिका छ ।

यसैबीच सत्तारुढ दल नेकपामा बढ्दो आन्तरिक विवादका बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीसंग सम्बन्ध सुधारेर जाने मनसाय देखाएपछि कांग्रेसमा आन्तरिक छलफल बढेको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच बढ्दो दुरीका कारण राजनीतिमा आउनसक्ने प्रभावमा प्रमुख प्रतिपक्षी कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेसका दोस्रो तहका नेताहरु दिनहुँ छलफलमा छन् ।

सत्तारुढ नेकपा मिलेर जानसक्ने सम्भावना बढेको भन्दै नेताहरुले हिजोको केन्द्रीय कार्यसमिति बैठक अघिपनि आन्तरिक छलफल गरेका थिए । 


प्रतिक्रिया