उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण

असार २२, २०७७ | काठमाडौं

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समिति मार्फत सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट पुनर्निर्माणका बाँकी काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिनुभयो । 

शाक्यका अनुसार सोमबार मन्दिर परिसरमा छरिएका निर्माण सामग्री मिलाउने र ढुंगाका खम्बाहरु एकत्रित गर्ने कार्य गरिएको छ । उपभोक्ता समितिले सिकर्मी एवं अन्य निर्माणकर्मीहरुसँग छलफल पनि गरेको छ ।

मन्दिर पुनर्निर्माणका लागि असार १५ गते ललितपुर महानगरपालिकाले सिफारिस गरेको शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गरी पेश्की रकम उपलब्ध गराइएको पुरातत्व विभागका सीडीई सम्पत घिमिरेले जानकारी दिनुभयो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा पुरातत्व विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ । उपभोक्ता समिति र पुरातत्व विभागबीच भएको सम्झौता अनुसार समितिले ३ करोड ८ लाख रुपैयाँको लागतमा २०७८ असार १५ गतेभित्र मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सम्झौता पछि उपभोक्ता समितिले ४० लाख रुपैयाँ पेश्की लगेको छ । यसअघि श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण व्यवसायी मार्फत रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण अघि बढाइएको थियो । पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि नबढेपछि जनप्रतिनिधि एवं स्थानीयको सुझाव अनुसार ठेक्का तोडी उपभोक्ता समिति मार्फत गर्न लागिएको हो ।

मन्दिर पुनर्निर्माणको अनुगमनका लागि प्राधिकरणका कार्यकारी समिति सदस्यको नेतृत्वमा ललितपुर महानगरपलिका एवं सम्बन्धित वडाका प्रतिनिधि, पुरातत्व विभागका प्रतिनिधि, बुंगमती क्षेत्र पुनर्निर्माण तथा विकास समितिका प्रतिनिधि, परामर्शदाता र विज्ञ सम्मिलित एउटा समिति पनि गठन गरिएको छ ।

गत पुस १४ गते सिंहदरवारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बसेको जनप्रतिनिधि सहितको बैठकले मन्दिरको बाँकी कामको पुनर्निर्माण उपभोक्ता समिति मार्फत गराउने निर्णय गरेको थियो । 

उपभोक्ता समिति मार्फत सम्पदा पुनर्निर्माण गर्दा सकरात्मक परिणाम आएका छन् । रानीपोखरीको पिंध र पानी रहने वरिपरिको पर्खालको पुनर्निर्माण सम्पन्न गरेर उपभोक्ता समितिले गत साता प्राधिकरणलाई हस्तान्तरण गरेको थियो ।


प्रतिक्रिया