गत वर्षको भन्दा ३७ प्रतिशत बढी धान रोपाईं

असार २६, २०७७ | काठमाडौं

नेपालमा यो वर्ष धान रोपाई ६१ प्रतिशत सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार असारको तेस्रो सातासम्ममा धानको रोपाईं ६० दशमलव ६३ प्रतिशत सम्पन्न भएको हो । 

यो गत बर्षको सोही अवधीको तुलनामा झण्डै ३७ प्रतिशत बढी हो । अघिल्लो वर्ष यो अबधीमा मुलुकभर करिब २४ प्रतिशत मात्र रोपाईं भएको थियो । धान रोपाईं हुने १३ लाख ७१ हजार क्षेत्रफलमध्ये ६० दशमलव ६३ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयका प्रबक्ता डा.हरिबहादुर केसीले जानकारी दिनुभयो ।

सबैभन्दा बढी सुदुरपश्चिम र कर्णाली प्रदेशमा ७५ प्रतिशत धान रोपाईंं भएको मन्त्रालयले जनाएको छ । अन्य प्रदेशहरुमा पनि ५० प्रतिशत भन्दा बढी धान रोपाईं भएको प्रवक्ता डा. केसीले जानकारी दिनुभयो ।

यो वर्षको मनसुन नियमित भएसँगै कृषिमा पर्याप्त जनशक्ति रहनु तथा किसानले समयमै बिउ राखेकाले धान रोपाईको अवस्था उत्साहजनक रहेको मन्त्रालयले जनाएको छ । कोरोना महामारी तथा बिभिन्न कारणले मुलुकको अर्थतन्त्र थलिएका बेला धान रोपाईंको अवस्थाले भने राम्रो संभावना देखाएको छ । 

यद्यपि मुलुकका अधिकांश स्थानमा किसानले पर्याप्त मल भने पाउन नसकेको गुनासो गर्दै आएका छन् ।   


प्रतिक्रिया