पहिरोमा पुरिएर पोखरा र लमजुङमा १० जनाको मृत्यु

 लमजुङमा खसेको पहिरो । तस्बिर : आश गुरुङ, लमजुङ ।

असार २६, २०७७ | पोखरा

अविरल बर्षापछिको पहिरोमा पुरिएर मुलुकका विभिन्न स्थानमा १० जनाको मृत्यु भएको छ । ९ जना वेपत्ता भएका छन् । ११ जना घाईते भएका छन् ।

कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पोखरा–१८ सराङकोट गोठादीमा विहान साढे २ बजेतिर खसेको पहिरोले स्थानीय टंकबहादुर थापाको घर पुर्दा ५ जनाको मृत्यु भएको छ । घरधनी ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, टंकबहादुरको दाईको नाती ६ वर्षीय सुवान थापा र ११ वर्षकी इशीका थापाको मृत्यु भएको हो ।

मृतक अर्का एक बालकको सनाखत हुन नसकेको हमालले बताउनुभयो । ८ जना घाइते भएका छन् । उनीहरुको मणिपाल र गण्डकी अस्पतालमा उपचार भइरहेको छ । थापाको घरमा जन्मदिनको पार्टी रहेकाले आफन्त र छिमेकी जम्मा भएका थिए ।

यसैगरी, पोखरा–२५ हेम्जामा पहिरोले घर पुर्दा ७० वर्षीया हिमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा–२६ मा दुर्गाबहादुर सुनारको पनि मृत्यु भएको छ । 

लम्जुङको बेसीसहर नगरपालिका ७, सातबिसेमा गएराती साढे १० बजेतिर खसेको पहिरोले घर पुरिदा स्थानीय दिपक तामाङ, उनकी श्रीमती बिमाया र छोरा छेवाङको मृत्यु भएको हो । सोही घरमा बस्ने अन्य ३ जना घाइते भएका छन् । उनीहरुको लम्जुङ जिल्ला सामुदायीक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया