म्याग्दीमा पहिरोले १५ जना बेपत्ता, ३० जनाबढी पहिरोमा फसे, उद्धारमा समस्या

असार २६, २०७७ | म्याग्दी

अविरल भारी वर्षापछि आएको पहिरोमा परि म्याग्दीमा कम्तीमा १५ जना बेपत्ता भएका छन । दर्जनौं घर पुरिएका छन । पहिरोमा परि धौलागिरी गाउँपालिका, ६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवार सहित कम्तीमा ७ जना वेपत्ता भएको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो ।

वडाध्यक्ष सुवेदीका अनुसार पहिरोले वस्ती–वस्ती विच्छेद भएकाले कति घर पुरिए, कति क्षति पुग्यो यकिन भएको छैन । पहिरोमा फसेकालाई उद्धार गर्न सकिएको छैन ।

त्यसैगरी मालिका गाउँपालिका, ७ विमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परि स्थानीय विष्णु शर्मा र इच्छा पौडेल समेत कम्तीमा ८ जना वेपत्ता भएका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी गराएका छन । कम्तीमा ३० जना पहिरोमा फसेका छन् ।

‘विमको पहिरोमा कम्तीमा ८ जना वेपत्ता भएको जानकारी आएको छ । वारीपारी दुवै तर्फ पहिरो गएको र बाढी आएकोले प्रहरीसमेत हामी कोहीपनि घट्नास्थल पुग्न सकेका छैनौं’ मालिका, ७ विमका वडाध्यक्ष रेशम जुग्जालीले भन्नुभयो, ‘हेलिकोप्टरको सहयोग मागेका छौं । घट्नास्थल पुग्न उपायको खोजी भैरहेको छ ।’

पहिरोमा धौलागिरी गाउँपालिका, ६ मराङको घन्टवाङ र मालिका गापा, ७ विमको भारवाङ क्षेत्रमा १५ जनाबढी वेपत्ता भएको र कम्तीमा ३० जनाबढी पहिरोमा फसेका, उद्धारकर्ता घट्नास्थल पुग्न नसकेको र खराव मौषमले हेलिकोप्टर उड्न नसकेको जिल्ला आपतकालिन कार्य संञ्चालन केन्द्रले जनाएको छ ।

‘पहिरोले वस्ती पुरै घेरिएकोले प्रहरी समेत स्थानीय उद्धारकर्ता समेत घट्नास्थल पुग्न सकेका छैनन । वेपत्ता र क्षतिको विवरण फोनको भरमा टिपेका छौं । पुष्टी भैसकेको छैन’ जिल्ला विपत ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भन्नुभयो, ‘उद्धारका लागि गृहसँग हेलिकोप्टरको सहयोग मागेका छौं । निरन्तरको भारी वर्षाले खराव मौषमहुँदा हेलिकोप्टर पनि आउन सकेको छैन ।’

त्यसैगरी अविरल बर्षाका कारण राहुघाट खोलामा आएकोबाढीले बेनी–जोमसोम सडकको गलेश्वर स्थित राघुघाट खोलामाथीको बेलीव्रिज वगाएको छ । पुलको फाउण्डेसनसहित बगाएपछि बाढी अहिले पिप्लेगलेश्वर वस्ती तर्फ सोझिएको छ । मोटर पुल बगेपछि रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अव यातायातबाट पूर्ण विच्छेद भएका छन् ।


प्रतिक्रिया