भारतको सीमा रक्षा गर्दा फेरि गयो एक नेपालीको ज्यान

असार २६, २०७७ | नयाँ दिल्ली

भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मुकश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) क्षेत्र नजिक आज सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । 

भारतीय सेनाले युद्धविरामलाई उल्लंघन गर्दै आज बिहान करिब एक बजे तिर पाकिस्तानी तर्फबाट भएको गोलाबारीमा परेर जम्मुकश्मिरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको जनाएको छ । 

गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मुका कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दरले कान्तिपुरसँग घटना आज बिहानै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि गर्नुभयो । प्रवक्ता आनन्दका अनुसार गुरुङ गोरखा जिल्ला निवासी हुन् । 

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मुकश्मिरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मीकै दिपक कार्कीको मृत्यु भएको थियो । 


प्रतिक्रिया