लमजुङमा चार दर्जन बढी घर विस्थापित

 लमजुङमा पहिरोले आधा पुरिएको दिपक तामाङको घर । तस्बिर : आश गुरुङ ।

असार २८, २०७७ | लमजुङ

केही दिनयताको भीषण बर्षापछिको बाढीपहिरोले लमजुङमा ४ दर्जन बढी घर विस्थापित भएका छन् । १ सय बढी घर उच्च जोखिममा छन् ।

बाढीपहिरोले दोर्दी गाउँपालिका ८ दुवारगाउँमा मात्रै २३ घरपरिवार विस्थापित भएका छन् । बर्षाले जमिन भाँसिएपछि घर भत्किनुका साथै घरआँगनबाटै पहिरो चलेपछि विस्थापित भएको गाउँकार्यपालिका सदस्य लालमाया मिजारले बताउनुभयो ।

वडाअध्यक्ष तुलबहादुर गुरुङका अनुसार बर्षाका कारण घरमा बाढी पस्ने र घर नजिकै पहिरो खस्न थालेपछि ४० घर उच्च जोखिममा परेको छ । जोखिममा परेकामध्ये २३ घरपरिवार छिमेकी गाउँ र नजिकैको आफन्तमा विस्थापित भएका छन् । करिव २० रोपनी जमिनमा धाँजा फाटेको स्थानीयले बताएका छन् ।

क्व्होलासोंथर गाउँपालिका ७, भोंजेमा १० घरपरिवार विस्थापित भएका छन् । वडा सचिव तक्मा विकका अनुसार पहिरोले घरआँगन भत्काउन लागेपछि उनीहरु विस्थापित भएका हुन् ।

डीएसपी गंगाबहादुर थापाका अनुसार बाढी पहिरोका कारण जोखिममा परेपछि गाउँले विस्थापित हुन थालेका छन् । विवरण संकलनको काम भइरहेको उहाँले बताउनुभयो ।

स्थानीयका अनुसार बेंसीशहर नगरपालिका १० राउतथोकको सम्शेरबहादुर राउतको घरमा पहिरो खसेपछि परिवार विस्थापित भएको छ । मस्र्याङदी गाउँपालिका २ घनपोखराकी मिनिता गुरुङ घर तलबाट पहिरो आउन थालेपछि विस्थापित छन् । मस्र्याङदी ९ सिम्पानीको सोमबहादुर घलेको घर माथिबाट ढुंगासहितको पहिरो आएपछि विस्थापित छन् ।

बाढी पहिरोमा परेर बेंसीसहर नगरपालिका, क्व्होलासोंथर गाउँपालिकामा पशुचौपायाको पनि ठूलो क्षति भएको छ ।  


प्रतिक्रिया