तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, पाँच बेपत्ता (अपडेट)

तनहुँको रिसिङ गाउँपालिका–८ स्थित भैसिलिकिमा पहिरोले पुरिएकाहरुको खोजी हुँदै । तस्विर: सम्झना रसाइली/कान्तिपुर 

असार २९, २०७७ | तनहुँ

अविरल वर्षासंगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता भएका छन् ।

 मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । 

उहाँका अनुसार माँझफाँटका ३ जना एकै परिवारका हुन् । सोही परिवारका २० वर्षीय राजेश थापा तथा रिसिङ–८ का भेषबहादुरकी श्रीमती २९ वर्षीया नानुमाया र छोरी ५ बर्षीया अमिषा तथा २२ बर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता भएका छन् ।

पहिरोका कारण व्यास–९ माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि मृत्यु भएको छ ।

यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पहिरोमा परि व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापा घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

बेपत्ता सबैको खोजी कार्य भैरहेको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो । 


प्रतिक्रिया