प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति भारतका सन्त-महन्तको विरोध

असार ३०, २०७७ | नयाँ दिल्ली

प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले सोमबार भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने तर, भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गरेको भनाईलाई लिएर भारतका सन्यासी र बाबाहरुले चर्को विरोध जनाएका छन् ।

सन्त–महन्तहरुको छाता संस्था अखिल भारतीय अखाडा परिषदले नेपालका प्रधानमन्त्रीको अभिव्यक्तिले सनातन धर्ममाथि नै प्रहार भएको र यसविरुद्ध जनआन्दोलन गर्ने चेतावनी समेत दिएको छ । परिषद् भारतका भरका सन्त–महन्तहरुका १३ अखडाका प्रतिनिधित्व हुनेगर्छ । 

परिषदका अध्यक्ष महन्त नरेन्द्र गिरीले कान्तिपुरसँगको कुराकानीमा ओलीको भनाईलाई दुर्भाग्यपूर्ण भन्दै यसले दुई देशबीचको धार्मिक र सनातन सम्बन्धमै असर पर्ने चेतावनी दिनु भएको छ । 

उहाँले भन्नुभयो, ‘नेपाल र भारतबीचको सम्बन्ध युगौं पुरानो हो । नेपालीहरु ठूलो संख्यामा रामजन्मभूमि अयोध्या दर्शन गर्न आउने गर्छन् त्यसैगरी भारतीयहरु पनि नेपालका तीर्थ घुम्न जान्छन् । यसलाई कसैले पनि चाहेर रोक्न सक्दैन । तर, प्रधामन्त्री ओलीले यो युगौं देखि चल्दै आएको सनातन परम्परावाला सम्बन्धमै असर पुग्ने बयान दिएका छन्, जुन बिल्कुल गलत हो ।’

प्रधानमन्त्री ओलीले भानुजयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगञ्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । ओलीले ‘राम पनि भारतीय हुँदै होइनन्, ठाउँ पनि भारतमा पर्दैन । नेपालको हो भनेर सोमबार अभिव्यक्ति दिनु भएको थियो । ओलीको यही अभिव्यक्तिले विवाद सिर्जना गरेको हो ।

अखडा परिषदले नेपालका सन्तहरुलाई ओलीको विरोधमा प्रर्दशन गर्न आह्वान समेत गरिसकेको छ । साथै अर्को साता हरिद्धारमा बस्ने परिषदको बैठकले विरोधका थप कार्यक्रमहरु तय गर्ने महन्त गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हरिद्धारमा बस्ने बैठकले ओलीले अयोध्या भारतको उत्तरप्रदेशमा भएको स्वीकार गरेर माफी नमागेसम्म जनआन्दोलन गर्नेछ ।’

उहाँले ओलीको बयानप्रति आश्चर्य समेत प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालका जनतालाई पनि थाहा छ किनभने उनीहरु रामजन्मभूमिको दर्शन गर्न ठूलो संख्यामा अयोध्या आउने गर्छन् अनि ओलीले किन यस्तो बयान दिए आश्चर्यमा छौं ।’ साथै उहाँले ओलीको बयानका पछाडि चीनको दबाब रहेको समेत दावी गर्नुभयो । दुई देशबीचको सम्बन्धलाई बुझेको कुनै पनि व्यक्तिले सामान्य अवस्थामा यसकिसिमको बयान नदिने पनि उहाँले जिकिर गर्नुभयो ।

त्यसैगरी अयोध्याका राम मन्दिरका मुख्य पुजारी महन्त धिनेन्द्र दासले समेत ओलीको अयोध्या सम्बन्धी बयानको विरोध जनाउनुभयो । ‘रामको जन्म सरयू नदी नजिकको अयोध्यामा भएको हो । रामकी पत्नी सीता नेपालकी हुन् । तर, राम नै नेपालको भन्ने गलत हो । ओलीको सो भनाईको म भत्र्सना गर्छु’ अयोध्याको राम मन्दिर गुठीका प्रमुखसमेत रहेका दासलाई उद्धृत गर्दै भारतीय सन्तार माध्यमहरुले जनाएका छन् ।

ओलीको सो अभिव्यक्तिलाई लिएर नेपालमै पनि चर्को आलोचना सुरु भएको छ । साथै नक्शा विवादका कारण दिल्ली र काठमाडौंबीचको दूरी बढेका बेला ओलीको पछिल्लो अभिव्यक्तिले त्यसलाई थप बढाउने आशंका समेत गरिएको छ ।

ओलीको सो अभिव्यक्तिप्रति भारत सरकारले भने औपचारिक रुपमा कुनै प्रतिक्रिया नजनाए पनि भारतको सत्तारुढ दलले भने ओलीको भनाई प्रति सोमबार नै विरोध जनाइसकेको छ । ओलीको सोमबारको विवादास्पद टिप्पणी प्रति भारतको सत्तारुढ दल भाजपाले पनि तीब्र आलोचना गरेको छ ।

अयोध्यास्थित रामजन्मभूमिमा स्थानमा मन्दिर निर्माण स्थापनाकालदेखि नै भाजपाको प्रमुख राजनीतिक मुद्दा बनाउँदै आएको छ । भाजपाका राष्ट्रिय प्रवक्ता विजय शंकर शास्त्रीले ओलीको टिप्पणी हतासा र निराशाको उपज भएको भन्दै त्यसमा टिप्पणी गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ओलीको भनाई टिप्पणी गर्न लायक पनि छैन । हतासा र निराशाको उपज हो ।’

उहाँले नेपाल र भारतलाई राजनीतिक रेखालाई मात्र विभाजन गरेको तर, सामाजिक र सांस्कृतिक रुपमा कुनै विभाजन नरहेको समेत जिकिर गर्नुभयो । त्यसैगरी काठमाडौंमा पशुपतिनाथ र काशीमा विश्वनाथ एउटै भएको यथार्थमाथि ओलीले चाहेर पनि पर्दा राख्न नसक्ने उहाँको भनाई छ । साथै भारत, नेपाल र चीनका कम्युनिष्टहरुले इतिहासलाई तोडमरोड गरेर सत्यकुराबाट भाग्दै कहिल्यै पूरा नहुने कल्पनाको कुरा गर्ने गरेको उहाँको भनाई छ । 


प्रतिक्रिया