लकडाउन खुलेयता कोरोनाका कारण १२ जनाको मृत्यु

तस्बिर : रोयटर्स 

श्रावण १४, २०७७ | वीरगञ्ज

सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ह्वात्तै बढेको छ । यही साउन ६ गते मध्यरातिबाट सरकारले लकडाउन खोले यताको ८ दिनमा मात्र १२ जनाको मृत्यु भएको छ । 

गत बुधबारसम्म ४० जनाको मृत्यु भएकोमा बुधबार सो संख्या बढेर ५२ पुगेको छ । संक्रमणका कारण प्रदेश १ मा बुधबार पहिलो पटक एकजनाको मृत्यु भयो भने प्रदेश २ को वीगञ्जमा थप २ जनाले ज्यान गुमाएका छन् । वीरगञ्जमा मात्रै मृत्यु हुने योसँगै ६ पुगेको छ ।

समयमा उपचार नपाउँदा मोरङको सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय मोहम्मद मोविनको मृत्यु भएको हो । विराटनगरस्थित कोशी अस्पतालबाट धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएका उनको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । 

कोशी अस्पताल र वीपी प्रतिष्ठानबीच समन्वय हुन नसक्दा मोविनको ज्यान गएको हो । १० दिनअघि भारतबाट नेपाल आएका उनमा कोरोना पोजेटिभ पाईएपछि भेन्टिलेटर सहितको उपचारका लागि धरान पठाउन खोजेपनि एम्बुलेन्स अभावमा सम्भव नभएको कोशी अस्पताल फिभर क्लिनिकका प्रवक्ता डा. दिपक सिग्देलले बताउनुभयो । 


प्रतिक्रिया