बझाङमा फैलिदै संक्रमण : घर पठाइएका ६८ जनाको रिर्पाेट पोजेटिभ

श्रावण १७, २०७७ | बझाङ

– बझाङको केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार २५ जना र शनिवार ४१ जनामा गरी ६६ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमितहरु वडा नं, ६ र ७ का बासिन्दा भएको र उनिहरु सबै भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ ।

संक्रमितहरु थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडा लगायतका गाउँका स्थानिय हुन । संक्रमण पुष्टि भएकाहरुलाई ८ देखी १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपी घर गएका संक्रमितहरु होमक्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने नियमहरु बेवास्ता गर्दै सामान्य मानिस झै समुदायमा घुलमिल भैसकेको स्थानीयको भनाई छ । एकै पटक ठुलो संख्यामा संक्रमितहरु भेटिएपछि गाउँपालिकाले वडा नं ६ र ७ लाई पुर्णरुपमा सिल गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको आज बसेको बैठकले गाउँपालिकामा पुन: लकडाउन गर्ने निर्णय समेत गरेको छ । 

गाउँपालिकाले वडा नं ६ मा संक्रमण पुष्टी भएकाहरुलाई भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं ७ काहरुलाई कैलास भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ । वडा अध्यक्ष समेत रहेका गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले संक्रमित भेटिएको वडालाई सिल गर्न सुरक्षाकर्मीहरु परिचालन गरिसकेको बताउनुभयो । खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका पसलहरु विहान ७ देखी १० बजे सम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्काे वडामा जानु पर्दा वडाअध्यक्षको सिफारिस अनिवार्य हुनु पर्ने निर्णय गरिएको उहाँकोभनाई छ ।

कन्ट्याट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परिक्षण गर्ने तयारी भैरहेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताउनुभयो । परिक्षण गर्नको लागि २ सय थान भिटिएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटको लागि स्वास्थ्य कार्यालय सँग समन्वय गरिरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

यसैबीच बझाङमा केही दिन यता संक्रमितको संख्या अप्रत्यासित रुपमा बढ्न थालेको छ । आज मात्रै मष्टा गाउँपालिकाका एक महिने शिशु सहित ४३ जनामा संक्रमण पुष्टी भएको छ । हिजो पनि जिल्ला भरीका २७ जना संक्रमित थपिएका थिए । यो सँगै जिल्लामा संक्रिमतको संख्या १ सय ४२ पुगेको छ । 


प्रतिक्रिया