सोमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १९, २०७७ | काठमाडौं

नेपालमा सोमबार थप ४ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार थप ४ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोरोना संक्रमिको संख्या २० हजार ७ सय ५० पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा हाल ५ हजार ७ सय ३२ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । यो कुल संख्याको २७.६ प्रतिशत हो ।

मन्त्रालयका अनुसार नेपालमा संक्रमण मुक्त हुनेको कुल संख्या १४ हजार ९ सय ६१ रहेको छ । कुल संक्रमित मध्ये ७२.१ प्रतिशत संक्रमण मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण हालसम्म ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१ जना संक्रमित थपिएको छ । काठमाडौ‌ंमा ४३ जना, ललितपुरमा ३ जना र भक्तपुरमा ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुुसार पीसीआर विधिबाट हालसम्म ३ लाख ९८ हजार ९०७ परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा भने १० हजार ७६८ पीसीआर परीक्षण भएका छन् । 

त्यसैगरी हालसम्म क्वारेन्टिनमा रहनेको संख्या १० हजार ४५२ जना रहेको छ । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ७३२ जना रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया