एक महिनापछि सोमबार सर्वाधिक संक्रमित थपिए

श्रावण १९, २०७७ | काठमाडौं

– मूलुकमा आज एक महिना पछि कै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि अहिलेसम्मकै धेरै गत असार १९ गते ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि संक्रमितको संख्यामा उल्लेख्य कमी आउन थालेपछि सरकारले गत साउन ६ गते मध्यरातिबाट लकडाउन अन्त्य गरेको थियो । 

लकडाउन खुल्ला भएसँगै फेरि कोरोना संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । लकडाउन खुलेयता साउन ७ गते एक सय जनामा संक्रमण पुष्टि भएको थियो भने साउन १५ मा २ सय ७४ रसाउन १७ मा ३ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो । गत असार १९ गते १५ हजार २ सय ५९ कुल संक्रमित रहेकोमा आज सो संख्या २० हजार ७ सय ५० पुगेको छ । एक महिनाको अवधिमा मुलुकभर ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित भेटिएका छन् । मृत्यु हुनेको संख्या समेत बढेर ३२ बाट ५८ भएको छ ।

संक्रमणको हटस्पट बन्दै गएको पर्सामा पछिल्लो २४ घण्टामा ७१ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाण्डौं उपत्यकाका तीन जिल्लामा ५१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाण्डौंका ४३, ललितपुरका ३ र भक्तपुरका ५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुलुकभर ३६ जना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये काठमाडौंमा मात्रै २२ जनाको उपचार जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हाल मुलुकभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा ३ सय ५८ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ हजार ९ सय ६१ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया